२०८१ जेष्ठ ६ गते आइतवार

सुन्तला शीतभण्डारमा राखेपछि किसानले पाए तीन गुणा बढी मूल्य



१ बैशाख, तेह्रथुम- हिउँदमा बिक्री नभएका सुन्तला शीतभण्डारमा राखेपछि तेह्रथुमका किसानले अहिले तीन गुणा धेरै मूल्य पाएका छन् । म्याङलुङ–९ साब्लामा सञ्चालित मेयङलुङ शीतभण्डारमा हिउँदमा सुन्तला भण्डारण गर्दा प्रतिकिलो ६० रुपैयाँ थियो । अहिले प्रतिकिलो दुई सय रुपैयाँले बिक्री भइरहेको छ ।

कोशी प्रदेश सरकारको तीन करोड, म्याङलुङ नगरपालिका र कियाचु कृषि सहकारी संस्थाको एक करोड ३० लाख रुपैयाँ साझेदारीमा म्याङलुङ–९ साब्लामा एक हजार मेट्रिक टनको शीतभण्डार सञ्चालनमा छ । प्रतिकिलो दुई रुपैयाँ ५० पैसा प्रतिमहिना भाडा तिरेर माघको अन्त्यतिर शीतभण्डारमा राखेको दुई महिनामै स्थानीय बजारमा सुन्तलाले तीन गुणा बढी मूल्य पाउँदा किसानलाई फाइदा भएको म्याङलुङ–२ की मेनुकाकुमारी श्रेष्ठले बताउनुभयो ।

यसअघि शीतभण्डारमा भण्डारणको अनुभव नभएकाले बिग्रिने हो की भनी डराइडराइ सुन्तला भण्डारण गरेको म्याङलुङ–२ का मोतीराज तुम्बाहाङ्फे बताउनुभयो । तर भण्डारणको समयमा कटिङ र लेबलिङमा ध्यान दिने हो भने नबिग्रिने थाहा पाएको उहाँले बताउनुभयो । किसानमा शीतभण्डारको उपयोगिताको बारेमा थाहा नभएकाले किसानसँग छलफलमा रहेको शीतभण्डारकी व्यवस्थापक कुमारी लिम्बूको भनाइ छ ।

प्रकाशित मिति : २०८१ बैशाख १ गते शनिवार
प्रतिक्रिया दिनुहोस्