२०८१ जेष्ठ ३१ गते बिहिवार

गाइने किरा हराउँदा कृषिमा समस्या



२१ वैशाख, घोराही- गाइने किराको संख्यामा कमी आउन थालेपछि त्यसको प्रत्यक्ष असर कृषि उत्पादनमा देखिन थालेको छ । गाइने किराको संख्या घट्दा पतेरो, गवारो र लाई को उल्लेख्य वृद्धि भई मुख्य बाली धान, मकै र गहुँको उत्पादनमा कमी आउन थालेको छ ।

सघन धान खेतीमा लामो समयदेखि अनुसन्धानरत कृषि प्रचार अधिकृत कृष्ण धितालले गाइने किराको संख्या घट्दा त्यसको मुख्य आहार बालीलाई हानिकारक मानिएका किराको संख्या बढिरहेको बताउनुभयो ।

पतेरोले मात्रै धान उत्पादनमा १० प्रतिशतसम्म ह्रास ल्याउने धितालले दाबी गर्नुभयो । नेपालमा हाल ५६ लाख मेट्रिक टन धान उत्पादन हुने र गाइने किरा जस्ता मित्रजीवको संख्यामा कमी आउँदा त्यसले १० प्रतिशतसम्म धान उत्पादन घटाएको उहाँले बताउनुभयो ।

सफा पानीलाई खेतीमा सिँचाइ गर्दा त्यसले स्वस्थ उत्पादन दिने बताउँदै फोहोर पानी सिँचाइबाट स्वस्थ उत्पादन हुन नसक्ने र त्यसका कारणले उत्पादनमा समेत कमी आइरहेको उहाँले बताउनुभयो ।

पानीमा बढ्दो प्रदूषण र सिमसार क्षेत्रको अतिक्रमणका कारण संसारमै गाइने किरा घट्दो क्रममा रहेको र नेपालमा १८२ किसिमका गाइने किरा पाइने उहाँको भनाई छ ।।

प्रकाशित मिति : २०८१ बैशाख २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्