२०८२ असार २५ गते मङ्गलवार

राप्तीको नीति तथा कार्यक्रम : लुम्बिनी प्रदेश सभाका सभामुखद्वारा सम्बोधन



७ असार,मसुरिया – दाङको राप्ती गाउँपालिकाले नीति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत गरेको छ। गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरको विशेष उपस्थितिमा गाउँपालिकाको ७ औं गाउँसभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो।

गाउँसभामा पालिकाले हालसम्म हासिल गरेका उपलब्धिहरू जानकारी गराउँदै नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष विष्टले समृद्ध र विकसित राप्ती निर्माण गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको बताउनुभयो। उहाँले सीमित स्रोत र साधनका बीच जनताको आवश्यकता र अपेक्षालाई प्राथमिकता निर्धारण गरी योजनाबद्ध रूपमा कार्यान्वयन गरिने स्पष्ट पार्नुभयो।

“नागरिकका असिमित चाहना र आवश्यकता तत्कालै पूरा गर्न सम्भव नहोला,” अध्यक्ष विष्टले भन्नुभयो, “तर हामी जनताको हितलाई केन्द्रमा राख्दै शिक्षा, स्वास्थ्य, कृषि, उद्यम, पर्यटन र पूर्वाधारजस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै आएका छौं र आगामी दिनमा अझ प्रभावकारी रूपमा अगाडि बढ्नेछौं।”

सभाका प्रमुख अतिथि समेत रहनुभएका लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले संघ, प्रदेश र स्थानीय तहबीचको अधिकार नेपालको संविधानले स्पष्ट रूपमा व्यवस्था गरेको बताउनुभयो। उहाँले नेपालमा दुई तहको संसदीय व्यवस्था रहेको उल्लेख गर्दै संघीय र प्रदेश सरकारहरूमा पटक–पटक सरकार परिवर्तन भए पनि स्थानीय सरकार स्थायी भएकाले स्थायित्व, निरन्तरता र जनउत्तरदायित्वमा यसको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो।
गाउँसभाको बैठक असार ९ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ।

“स्थानीय सरकार भनेको जनताको ढोका अगाडिको सरकार हो,” सभामुख घर्तीले भन्नुभयो, “यसले सेवा प्रवाहमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले पारदर्शिता, जवाफदेहिता र जनसहभागिता सुनिश्चित गर्नु यसको पहिलो जिम्मेवारी हो।”
सभामुख घर्तीले नीति तथा कार्यक्रममार्फत जनताको आवश्यकता, इच्छा र अपेक्षा सम्बोधन गर्न स्थानीय सरकार प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो। साथै, स्थानीय सरकारलाई संघ र प्रदेशभन्दा बढी विश्वासिलो र जनमुखी बनाउने अवसरको रूपमा लिन आह्वान गर्नुभयो।

प्रकाशित मिति : २०८२ असार ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस्