१५ भदौ,प्यूठान – अबिरल वर्षाका कारण सडक भासिएपछी चकचके – भिङ्री सडकखण्ड अबरुद्व भएको छ। प्यूठानको स्वर्गद्वारी नगरपालिका – ४ गोठिबाङमा सोमबार बिहान पक्कि सडक भासिएर आवतजावत अबरुद्व भएको इलाका प्रहरी कार्यालय भिङ्ग्री प्यूठानका प्रहरी नायब निरिक्षक बुद्धि रानाले जानकारी दिनुभयो। वर्षाको भेल सँगै झारपात समेत आएर होमपाइप जाम भएकाले छेउबाट भङ्गालो बनाएर पानी बगेपछि सडक नै भासिएको हो। करिब ६ महिना अगाडिदेखि जाम भएका होमपाइपहरू खोलेर भेल सञ्चालन गर्न नसक्दा पक्की सडक पुरै भासिएको स्थानिय बासिन्दा केशब योगीले जानकारी दिनुभयो ।
होमपाइप जाम भएको बारे पटकपटक जानकारी गराईएपनि सडक डिभिजन कार्यालय प्यूठानले चासो नदिएको उहाँले गुनासो गर्नुभयो ।
योगीले भन्नुभयो,–२÷३ महिना अघि सडकका प्राबिधिकहरू आएर समाधान गर्छौं भनेर जानुभएको हो, हेरेर त जानुभयो, समस्या समाधान गर्ने केही काम भएन , आज सडक नै भासियो।’ होमपाईप थुनिएर पानीले निकास नपाउँदा पक्की सडक धसिएर करिब ८–१० मिटर तल खसेको छ।सडकको नामोनिशान छैन। पक्की सडकको पुरैभाग भासिएपछि सडक अबरुद्ध भएको हो ।
अबरुद्ध सडकमा अहिले दुई पाङग्रे सवारी साधन समेत सञ्चालन हुने स्थिती नरहेको स्थानियको भनाई छ । सडक अबरुद्व हुँदा सोमबार बिहान देखि सवारी आवागमन पुर्ण रुपमा बन्द छ। यो रोल्पा आउजाउ गर्ने मुख्य सडक समेत हो। सडक भासिएर पुर्ण रुपमा अबरुद्व रहेको यो सडक खुलाउन आवास्यक समन्वय भईरहेको प्रहरीले बताएको छ ।।