२०८१ कार्तिक २३ गते शुक्रवार

प्रदूषणले काठमाडौं उपत्यकामा दिउँसै अँध्यारो

छिटपुट पानी परे पनि प्रदूषण हटेर सफा घाम लाग्ने सम्भावना तत्काल नरहेको मौसमविद्को भनाइ


१७ चैत, काठमाडौं – वायुमण्डलमा धुलो र धुवाँका कण मिसिँदा काठमाडौंको आकाश चार दिनदेखि तुवाँलोले ढाकेको छ । दक्षिण एसियामै उच्चचापीय प्रणाली मजबुत बनेर वायुमण्डल स्थिर बनिदिँदा वातावरण सुक्खा बनेको थियो ।

यहीवेला डढेलो तथा आगलागीको धुवाँसँगै धुलोले ह्वात्तै बढाइदिएको प्रदूषण हट्न नसक्दा उपत्यकामा दिउँसै अँध्यारो हुन थालेको हो । बुधबार बिहान र साँझ उपत्यकामा छिटपुट पानी परे पनि प्रदूषण हटेको छैन । ‘जलवाष्पयुक्त हावा प्रवेश गरेर बादल त बन्यो । तर, जलवाष्प पर्याप्त नहुँदा उपत्यकामा राम्रोसँग वर्षा हुन सकेको छैन,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सजिना शाक्यले भनिन्, ‘भारतको बिहारआसपास रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहे पनि सक्रिय हुन सकेको छैन ।’

उपत्यकाको वायुमण्डलमा थिग्रिएर बसेको प्रदूषण हटेर सफा घाम लाग्ने सम्भावना तत्काल नरहेको मौसमविद्ले बताएका छन् । उपत्यकामा आगामी दुई दिनसम्म ठूलो पानी पर्ने सम्भावना छैन  । ‘ठूलो पानी परेन वा ठूलो हावा चलेन भने यहाँको प्रदूषण हट्न गाह्रो हुन्छ,’ उनले भनिन् ।

बुधबार काठमाडौंमा वायुको गुणस्तर सूचकांक २०४ सम्म रेकर्ड भएको छ । यो मात्रा पिएम–२.५ को आधारमा निकालिएको हो । जब कि सूचकांक १५० नाघ्नुलाई अस्वस्थकर, २०० नाघ्नुलाई अतिअस्वस्थकर र ३०० नाघ्नुलाई घातक मानिन्छ । तुवाँलोका कारण ‘भिजिबिलिटी’ कम हुँदा बुधबार बिहान त्रिभुवन विमानस्थलमा उडानसमेत प्रभावित भएका थिए ।

पोखरा, भरतपुर, धनकुटा, नेपालगन्जमा पनि प्रदूषण उच्च
काठमाडौंका साथै पोखरा, भरतपुर, धनकुटा, नेपालगन्जलगायतका सहरमा पनि प्रदूषण उच्च छ । जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी रामप्रसाद अवस्थीका अनुसार वायुमण्डलमा उच्चचापीय क्षेत्र मजबुत बनिदिँदा खासै पानी पर्न सकेको छैन । १३ चैतदेखि उच्चचापीय प्रणाली सक्रिय बनेको हो । तुवाँलोको समस्या काठमाडौैंमा मात्र नभई दक्षिण एसियामै बढेको छ ।

वायुमण्डलको माथिल्लो तहमा उच्च चापका कारण तल्लो तहमा रहेको हावाले वायुमण्डलसँग स्पर्श गर्न पाएको छैन । ‘धुलोधुवाँका कण सतहमा थिग्रिएर बसेका छन् । जमिनको सतहमा बादल त छ । तर, माथिल्लो वायुमण्डलमा उच्चचापीय प्रणालीको विकास भएर सुक्खा बादल पनि बनेको छ,’ अवस्थीले भने, ‘सतहभन्दा जति माथि गयो, त्यति तापक्रम घट्दै जानुपर्ने हो । तर, जमिनको दुई किलोमिटरभन्दा माथिको केही उचाइको तापक्रम घट्नुपर्नेमा बढेको देखिन्छ । यसले धुलोधुवाँ माथिल्लो वायुमण्डलमा फैलिन पाएको छैन, सतहमा थिग्रिएको छ । सुक्खायामसमेत रहेको र वर्षा पनि कम भएकाले प्रदूषण बढेको उनको भनाइ छ ।

०७६ मा कोरोना महामारीका कारण मुलुक लकडाउनमा रहँदा प्रदूषणको धेरै समस्या बढेन । तर, गत वर्ष मध्य चैतदेखि प्रदूषण ह्वात्तै बढेको थियो । यो वर्ष पनि प्रदूषण उच्च छ । सरकारले ०७६ वर्ष स्वीकृत गरेको काठमाडौं उपत्यका वायु गुणस्तर कार्ययोजनामा एक्युआई ३०० नाघे विपद्को रूप लिने भनिएको छ । नयाँपत्रिकाबाट

प्रकाशित मिति : २०७८ चैत्र १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्