१४ कात्तिक । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न खुमलटार पुग्नु भएको छ । शुक्रबार बिहान मन्त्री ज्ञवाली प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको सन्देश लिएर खुमलटार पुग्नु भएको छ ।
त्यस्तै बुधबार महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवाचन्द्र नेम्वाङ र बिहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई दूत बनाएर पठाउनु भएको थियो । उहाँहरुले रोकिएको संवाद सुचारु गर्न आग्रह गर्दै अध्यक्ष प्रचण्डलाई बालुवाटार आउन निम्तो दिनु भयो ।
अध्यक्ष प्रचण्डले वान टु वान वार्ताको औचित्य नरहेको भन्दै बालुवाटार जान अस्वीकार गर्दै आउनु भएको छ । उहाँले सचिवालय बैठक बोलाएर सामूहिक छलफल गर्ने अडान लिँदै आउनु भएको छ ।
उहाँले प्रधानमन्त्रीले स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन नगरेको, रअ प्रमुखको भेटवार्ताको संवाद गोप्य राखेको, कर्णालीको विवाद र पर्सामा आफ्ना कार्यकर्ताका हत्यारालाई संरक्षण गरेको भन्दै असन्तुष्टी जनाउँदै आउनु भएको छ ।