१५ साउन, घोराही-लुम्बिनी प्रदेश सरकार प्रमुखमा रोल्पाका कृष्ण बहादुर घर्तिमगर नियुक्त हुनुभएको छ । नेपाली कांग्रेस रोल्पाका पुर्व पार्टी सभापति समेत रहनुभएका घर्तिमगरको जन्म वि.स. २०१६ साल माघ १० गते रोल्पाको घर्तिगाउँमा भएको हो । उहाँको नाम बुबा अमृत बहादुर घर्तिमगर र आमा तुलसा घर्तिमगर हो ।
लुम्बिनी प्रदेश सरकारका प्रमुख कृष्ण बहादुर घर्तिमगर २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गर्नुभयो । रोल्पाको सदरमुकाम लिवाङको बालकल्याण माध्यामिक विद्यालयमा अध्ययन गर्दै गर्दा बाट विद्यार्थी राजनीतिबाट उहाँ राजनीतिमा सक्रिय रहनु भयो ।
पन्चायत विरोधी घर्तिमगर विद्यार्थी आन्दोलनको क्रममा फरकफरक समयमा २ पटक जेल समेत पर्नु भयो । उहाँ पन्चायतको विरोध गर्दा विद्यार्थी आन्दोलनको क्रममा जनमत संग्रहका लागि २०३६ सालमा २६ दिन र २०३८ सालमा २० दिन जेल बस्नु परेको थियो ।
२०४७ सालमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य, २०४९ सालमा जिल्ला पार्टी सचीव, तत्कालीन घर्तिगाउँ गाविस अध्यक्ष हुँदै २०५४ सालमा वडा सदस्य हुनुभयो ।
२०४८-०७२ सालसम्म पार्टीको महासमिति सदस्यको जिम्मेवारी निर्वाह गर्नुभयो । २०५९-०७२ सम्म निरन्तर रुपमा १३ वर्ष पार्टीको जिल्ला सभापतिको जिम्मेवारीमा रहनुभयो । उहाँ २०६०-०६१ सम्म नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य र सल्लाहकार परिषद सदस्य रहनु भयो ।
घर्तिमगर २०७९ सालको निर्वाचनमा प्रतिनिधि सभा समानुपातिक सदस्य बन्दसुचीमा रहनुभएको थियो । जिल्लामा पार्टीको महत्वपुर्ण जिम्मेवारीको रुपमा लामो समय दिनु भएका घर्तिमगरलाई सोमबार बसेको मन्त्रीपरिषद् वैठकले लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त गरेको हो । उहाँ रेडियो मालश्रीको स्थापना कालदेखिको प्रमुख सल्लाहकार समेत हुनुहुन्छ ।