२०८१ जेष्ठ ३० गते बुधवार

दाङमा कोरोना परीक्षण कम, संक्रमण बढ्दै



१४ साउन,दाङ – दाङमा २०७९ वैशाख, जेठ र असारमा कोरोना संक्रमित नदेखिए पनि साउनबाट बढ्न थालेको छ । वैशाखदेखि हालसम्मको तथ्यांक हेर्दा कोरोना संक्रमण बढ्दो क्रममा छ । वैशाखमा २९ जनाको परीक्षण गर्दा एकजनामा मात्रै पोजेटिभ देखिएको थियो । जेठमा १० जना र असारमा ३१ जनामा परीक्षण गर्दा सबै नेगेटिभ आएको थियो ।

साउनमा भने हिजोेसम्म २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दंगीशरणमा मात्रै हिजोेसम्म १० जनामा कोरोना संक्रमण भेटिएको छ भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ दिनमा १३ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै कोरोना संक्रमण फेरि बढ्न थालेपछि सरकारले स्वास्थ्य मापदण्ड पालना गर्न सर्वसाधारणलाई अपिल गरेको छ । साउन ५ गते मन्त्रालयले १० बुँदे सूचनामार्फत स्वास्थ्य मापदण्ड पालनामा सबैसँग अनुरोध गरे पनि त्यसको पालना सरकारी, गैरसरकारी क्षेत्र वा सर्वसाधारण कसैबाट हुन सकेको छैन ।

यसैबिच दाङमा ५ लाख ६७ हजार १६२ जनालाई कोरोना खोपको पहिलो मात्रा दिएको छ । दोस्रो मात्रा लगाउने चार लाख ६७ हजार ९५४ जना छन् भने बुस्टर डोज लगाउनेको संख्या एक लाख ७१ हजार ६०१ रहेको छ ।।

प्रकाशित मिति : २०७९ साउन १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस्