२०८१ साउन ३ गते बिहिवार

निषेधाज्ञा उल्लंघन गर्ने तीन जनालाई कारागार चलान



१७ बैशाख,घोराही ।
कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा उल्लंघन गरेको अभियोगमा रुपन्देहीमा तीन जनालाई कारागार पठाइएको छ । पक्राउ परेकामध्ये निषेधाज्ञा उल्लंघन गर्ने ८ जनालाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कैद सजाय माग गरेको थियो ।

जसमा ५ जनाले जरिवाना बुझाएर रिहा भएका छन् । अन्य ३ जनाले जरिवाना बुझाउन नसकेकाले कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

कारागार चलान भएकामा मायादेवी गाउँपालिका–४ का २७ वर्षीय दिनेश यादव, मायादेवी–२ का ३४ वर्षीय महेन्द्र कोहार र सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुवे रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्यनारायण थापाले बताउनुुभयो ।

कोरोना संक्रमण रोक्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बिहीबारदेखि वैशाख ३० गतेसम्म १५ दिन लामो निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी भएको अवस्थामा कामबिना सडकमा हिँडेका ७ पुरुष र १ महिलालाई सम्झाइबुझाइ गरिएको थियो। तर उल्टै उनीहरुले प्रहरीको काममा बाधा गरेपछि कैद सजाय माग गर्दै जिल्ला प्रशासन कार्यालयमा पठाइएको थियो ।

उनीहरुलाई संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम जिल्ला प्रशासनले कैद सजाय तोकेपछि जेल पठाइएको डिएसपी थापाले बताए । पक्राउ परेका ७ पुरुषलाई एक महिना कैद वा जनही ९ हजार १ सय जरिवाना प्रशासनले तोकेको थियो। पक्राउ परेकी महिलालाई ६ सय जरिवाना तोकिएको थियो ।।

प्रकाशित मिति : २०७८ बैशाख १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्