२०८१ जेष्ठ ३१ गते बिहिवार

घोराहीकी सितलीलाई २१ वर्षपछि घर प्राप्त




१६ चैत,घोराही – दश वर्षे जनयुद्धमा बेपत्ता पारिएका असहाय परिवारकी सदस्य सितली मगर्नीले २१ वर्षपछि घर प्राप्त गर्नुभएको छ । सशस्त्र द्वन्द्वका क्रममा रोल्पाबाट श्रीमान जीतबहादुर घर्तीमगरसंग घोराही आउनुभएकी सितलाका श्रीमानलाई सेनाले बेपत्ता पारेपछि ढेबलीमा बसोबास गर्दै आउनुभएको थियो । श्रीमान जीतबहादुर घर्तीलाई २०५८ मंसिर १३ गते सोधपुछका लागि ब्यारेकमा लगेर बेपत्ता पारेको थियो ।

घोराही उपमहानगरपालिका १४ ढोडेनीमा घर निर्माण गरेर हस्तान्तरण गरिएको छ । कार्यक्रम पुर्व सभामुख कृष्णबहादुर महाराले उदाहरणीय काम भएको बताउनुभयो । संघीयताको मर्म अनुसार स्थानीय सरकारले गरेको महत्त्वपूर्ण जनसेवाको काम भएको बताउनुभयो ।

उहाँले यो द्वन्द्वपीडित, असहाय र अनाथ लागी आगामी दिनमा यस्ता काम गर्न आग्रह गर्नुभयो । घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले दश वर्षीय जनयुद्धका असाहय परिवारदेखि सडक जीवन बिताइरहेका मानिसहरुको लागि महत्त्वपूर्ण काम भएको बताउनुभयो
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले राज्यले नागरिकको गाँस, बास र कपासको ग्यारेन्टी गर्नु पर्ने दायित्वलाई यसै गरि गरेर अघि बढ्न जरुरी रहेको बताउनुभयो । उपभोक्ता समितिका अध्यक्ष नरेश केसीले भवन निर्माणका लागि खर्च सार्वजनिक गर्नुभएको थियो ।
सो घर वडा कार्यालयबाट विनियोजित ७ लाख र नगरस्तरीय बजेट ३ लाख १९ हजार गरि कुल १० लाख १९ हजारमा ३ वटा कोठा, शौचालय, भण्डार कक्षसहित बनेको छ ।
वडा सदस्य गुलाम रसुलको स्वागत मन्तव्य सुरु भएको कार्यक्रमको सहजीकरण प्रकाश चौधरीले गर्नुभएको थियो । जिल्लामा एक सय २६ जना सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएको तथ्यांक रहेको छ ।।

प्रकाशित मिति : २०७८ चैत्र १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्