२०८१ चैत्र १३ गते बुधवार

नेपालका लागि नयाँ दल खोल्ने विकल्प खुला, देशभर प्रतिकारको तयारी



१७ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई एमाले अध्यक्ष केपी ओलीले कारवाही गरी ६ महिनाका लागि पार्टीबाट निस्काषण गरेपछि नयाँ दल खोल्ने विकल्प खुला भएको छ । एमालेभित्रै संघर्ष गरेर बस्ने कि नयाँ दल खोल्ने भन्ने दोधारमा रहेका नेपाललाई ओलीले पार्टीबाट ६ महिनाका लागि निष्काषण गरेसँग नयाँ दल खोल्ने विकल्प खुला भएको हो ।

ओलीले कारवाहीको डण्डा बर्षाएपछि नेपालको पहिलो प्रतिक्रिया थियो–‘अब केपी शर्मा ओलीका विरुद्धमा देशव्यापी अभियान चलाइनेछ ।’ तर उनलाई त्यहीभित्र बस्न असजिलो भएको छ भनेर सार्वजनिक अभिव्यक्ति दिएपछि भने ओलीले कारवाहीको डण्डा बर्षाएर नयाँ दल खोलेर बाहिररिन सजिलो बनाइदिएको बताइनछ ।

ओलीले कारवाही गरेको सार्वजनिक भएपछि उनले देशैभरिका कार्यकर्ताहरुलाई मैदानमा उत्रन आह्वानसमेत गरेका छन् । अध्यक्ष ओलीले सोमबार माधव नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्वन गर्ने निर्णय गरेलगत्तै नेता नेपालको आक्रामक प्रतिक्रिया आएको हो । बरिष्ठ नेता नेपालले केपी शर्मा ओली एमालेको अध्यक्ष नरहेकाले उनमा कारवाही गर्ने कुनै अधिकार नरहेको बताए । ओलीले आफैं केन्द्रीय कमिटी भंग गरेको अवस्थामा यसरी कारवाही गर्न नमिल्ने उनले बताए ।

तर यो वीचमा नेपाललाई साथ दिदै प्रचार विभाग प्रमुख समेत रहेका योगेश भट्टराईले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलाई सोमबार गरेको निर्णयबाट पछाडि हट्न चेतावनी दिएका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले सोमबार आफ्नो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टीका सबै जिम्मेवारी र साधारण सदस्यबाट समेत ६ महीनाका लागि निलम्बन गर्ने निर्णय गरेपछि पछाडि फर्कन चेतावनी दिएका हुन् ।

नेताहरुको विभिन्न भनाईहरु आएको बेला नेपाल आफैले भने केपी ओली अहिले नेकपा एमालेको अध्यक्ष नै नभएको पनि बताए । ‘उहाँ एमाले केन्द्रीय कमिटीको अध्यक्ष होइन । उहाँले एमालेको केन्द्रीय कमिटी भंग गरिसक्नुभयो । त्यसो हुनाले केन्द्रीय कमिटीको अध्यक्षका रुपमा काम गर्ने उहाँसँग केही पनि अधिकार छैन,’ नेपालले भने । ओलीले निलम्वन गरेको पत्र आफूले नपाएको बताउँदै नेता नेपालले अब देशव्यापीरुपमा ओलीविरुद्ध उत्रन कार्यकर्ताहरुलाई आह्वान गर्दछु समेत भनेका छन् । ‘अब केपी ओलीका विरुद्धमा देशव्यापी अभियान चलाइन्छ,’ उनले भने ।
नेपाल समूहका हरेक नेताहरुले यतिबेला सामूहिक चिहान खन्न तयार छौ भन्ने सन्देश प्रवाह गरिरहेका छन् । उनीहरुले नेकपा एमाले जिन्दवाद भन्नपनि छाडेका छैनन । यसरी हेर्दा तत्काल नयाँ दल खुल्ने संभावनाचाहि देखिदैन । तर पनि ओली भने नेपाल समूहलाई सधैका लागि पार्टीबाट विदा गरेर आफू सहज हुने वातावरणमा लागेको छ ।

देशभर समानन्तर कमिटी बनाइरहेको नेपाल समूहले पार्टीलाई एकताबद्ध बनाएर लैजाने भनिरहेको छ । तर ओली समूहका नेताहरुले नेपाल पक्षलाई पार्टीभित्रै निषेध गर्नेगरी कारवाहीको डण्डा चलाएका थालेका हुन् । वालुवाटार निकट स्रोतका अनुसार ओली समूहले अबको केही दिनमै घनश्याम भूषाल र सुरेन्द्र पाण्डेलाई पनि ६ महिना निलम्बन गर्ने तयारी गरेका छन् । नेपाल पक्षका नेताहरुले आफूहरुले बनाएको पार्टी भएकाले मैदान छाडेर नभाग्ने बताएका छन् ।

प्रकाशित मिति : २०७७ चैत्र १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्