१४ पुस, काठमाडौं –
रातको समयमा विभिन्न सहकारी संस्था तथा पसल लगायतमा चोरी गर्दै हिँड्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । अपराधको महाशाखाको टोलीले चोरी गर्दै हिँड्ने ५ जना र चोरीको सामान खरिद गर्ने अर्का एक जनालाई पनि पक्राउ गरेको हो ।
महाशाखाका अनुसार रातको समयमा सहकारी संस्था तथा पसलहरूमा चोरी गर्दै हिँड्ने गिरोहका रोशन उप्रेती, राम पुनित महतो, राम बाघदास, राजु गुप्ता भन्ने राम विश्वास महतो, अशोक कुमार महतो र कवाडी पसल सञ्चालक शत्रुधन प्रसाद जयसवाल पक्राउ परेका छन् । उनीहरुलाई चोरीको सामान सहित पक्राउ गरिएको महाशाखाले जनाएको छ ।
गत मंसिर ११ गते थानकोटस्थित विशाल प्लाष्टोक्याव ई. प्रालिबाट राती १२ः३० देखि २ बजेको समयमा पाइप बनाउन प्रयोग हुने तामा र पित्तलबाट बनेको साइजर तथा तामाको तार समेत गरी १८ लाख ७६ हजार ४ सय बराबरको धनमाल चोरी गरेको घटनाको अनुसन्धानका क्रममा उनीहरु पक्राउ परेका हुन् । पुष १२ गते साँझ ६ बजे चोरीमा संलग्न ५ जनालाई बुद्धनगरबाट र चोरीको सामान किन्ने शत्रुधन प्रसाद जैशवाललाई टेकुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यो गिरोहले रातको समयमा ट्याक्सी नै लिएर चोरीका लागि हिँड्ने गरेको पाइएको छ । उनीहरु ट्याक्सी लिएर चोरीका लागि निस्कने गरेको र यस्तै प्रकृतिका अन्य चोरीका घटनामा पनि उनीहरुको संलग्नता रहेको प्रहरीको दाबी छ । यही गिरोहले यसअघि विभिन्न सहकारी संस्था र केही उद्योगहरुमा पनि चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।