काठमाडौँ,१४ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै उनी वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् ।
आइतबार बिहान आएको मतगणनाको अन्तिम नतिजाअनुसार विजयी भएका ढकालले एसोसिएटमा ५२२, वस्तुगतमा ५९ तथा जिल्ला नगरमा ५२ मत पाएका छन् । उनका प्रतिस्पर्धी प्रधानले भने एसोसिएटमा ३७५, वस्तुगतमा ३९ र जिल्ला– नगरमा ५३ मत पाए । महासंघ चुनावमा वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्षसहित कुल ६३ पदका लागि १२७ उम्मेदवार चुनावी मैदानमा थिए ।
शनिबार सार्वजनिक मतपरिणाम अनुसार एसोसिएट्स तर्फ ढकाल पक्षका रामचन्द्र संघइ निर्वाचित भएका छन् । वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ र जिल्ला–नगरतर्फ दिनेश श्रेष्ठ विजयी भएका छन् ।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने भएकाले सो पदमा भने मतदान भएन । जसअनुसार शेखर गोल्छा स्वतः अध्यक्ष चयन भएका छन् ।
वरिष्ठ उपाध्यक्षका लागि ढकाल र प्रधान प्यानल नै बनाएर निर्वाचनमा उत्रिएका थिए । महासङ्घको मतदानका लागि जिल्ला र नगरका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एशोसिएटका लागि कार्की ब्याङ्केट र वस्तुगतका लागि महास्घको केन्द्रीय कार्यालयमा मतदान गरिएको थियो ।