१३ असोज,घोराही –
दाङमा एक जना मृत फेला परेका छन् । घोराही उपमहानगरपालिका १७ गैरिगाउँस्थित कटुवा खोलाको नहरमा घोराही उपमहानगरपालिका ९ कोठरी निवासी ३० वर्षीय भागिराम चौधरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
घटना अस्ति साझ भएको र चौधरी हिजो मृत फेला परेको प्रहरीले जनाएको छ । चौधरीको शवलाई राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हिजो नै पोष्ट मार्टम गरिएको हो । मृतक चौधरीको शरिरमा चोट देखिएकाले कसैले मारेर फालेको हुन सक्ने पारिवारिक श्रोतले बताएको छ ।
पोष्टमार्टमको रिपोर्ट प्राप्त भएमा मात्रै घटनाका विषयमा थप जानकारी मिल्ने जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्दप्रसाद रिजालले बताउनु भएको छ । साथै घटनाका विषयमा आवश्यक थप अनुसन्धान भैरहेको उहाँको भनाई छ ।।