३ भदौ, बुटवल – लगातारको वर्षाले रूपन्देही र पाल्पाका ठूलो क्षति गराएको छ । गएको बिहीबारदेखि यस क्षेत्रमा भारी वर्षा भइरहेको छ । बुटवलको ज्योतिनगरका चुरे पहाडबाट पहिरो झरेको छ ।
बुटवल ज्योतिनगरका दर्जन घरमा क्षति
बुटवलको ज्योतिनगरमा पहिरो जाँदा एक दर्जन घरमा क्षति पुगेको छ । बुटवल वडा नम्बर ३ को ज्योतिनगरमा चुरे पहाडबाट खसेको पहिरोले मनमाया भाट क्षेत्रीलगायत तीन जनाको घरमा पहिरो पसेको छ ।
पहिरोले एक दर्जन घरमा क्षति पुगेको स्थानीय विष्णु गुरुङले बताइन् ।
बिहान ६ बजेपछि पहिरो खसेकाले घरमा रहेकाहरु भागेर सुरक्षित भएका र मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालयका डिएसपी मदन कुँवरले जानकारी दिए । उक्त ठाउँमा २०५५ साल भदौ २० गते पहिरो खस्दा ५७ घरमा क्षति पुगेको थियो ।
पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडकमा क्षति पुर्याएर आवागमन अवरुद्ध भएको र त्यहाँ रहेको बिजुलीको पोल पनि बगाएको छ । पहिरो गएपछि स्थानीयले क्षति पुगेका घरमा रहेका सामान सुरक्षित स्थानमा सारेका छन् । पहिरोको जोखिममा रहेका अन्य स्थानीयलाई पनि अन्यत्र सार्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
तिनाउ नदीको कटान
यस्तै तिनाउ नदीमा आएको बाढीले बुटवल–१३ बुद्धनगरका केही घरमा कटान गरेको छ । अहिले तिनाउमा पानीको बहाव उच्च छ । प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालार्य सचेत गराएको छ ।
घर भत्किदा बालिकाको मृत्यु
अविरल वर्षाका कारण पाल्पाको तानसेनमा घर भत्किंदा १० वर्षीया बालिकाको मृत्यु भएको छ । तानसेन नगरपालिका–५ कैलाशनगरमा एकतले कच्ची घर भत्किएर पुरिँदा स्थानीय नारायण दर्जीकी १० वषिर्या छोरी नैना दर्जीको मृत्यु भएको हो ।
रातको साढे २ बजे घर पछाडिको गारो भत्किएर पुरिंदा गम्भीर घाइते भएकी बालिकालाई उपचार गर्न मिसन अस्पताल तानसेनमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको पाल्पा प्रहरी प्रवक्ता डीएसपी रामेश्वर त्वाँतीले बताए ।
सिद्धार्थ राजमार्ग ठाउँठाउमा अवरुद्ध
भारी वर्षापछि पहिरो खस्दा पाल्पामा पर्ने सिद्धार्थ राजमार्गको एक दर्जन स्थानमा सडक अवरुद्ध भएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका–५ जोरधारा, तानसेन नगरपालिका–७ बर्तुङ, बगनासकाली गाउँपालिका–३ धैरेनी, बगनासकाली गाउँपालिका–४ शेरा, तिनाउ गाउपालिकाको सिद्धबाबा, केराबारी, सिसुवा र हिउँदखोलामा पहिरो खस्दा सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।
यस्तै तानसेन–११ सम्मोबारीमा पहिरो जाँदा तानसेन–रिडी सडकखण्ड र रम्भा–३ सीता पहाडमा पहिरो खस्दा बर्तुङ–रामपुर सडकखण्ड पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । लोकान्तरबाट