१३ भदौ, घोराही –
दाङको देउखुरी राप्ती गाउँपालिका–१ बगासोतीखर्कका १३ घरमा सोलार बत्ती जडान गरिएको छ । वर्षौँदेखि सल्लाको दियालो, टुकी र लालटिनको उज्यालोमा बसेका स्थानीयवासी घरमा सोलार जडान भएपछि खुशी भएका छन ।
स्थानीय चेतमान बुढाले गाउँमा वडाले सोलारको व्यवस्था गरेपछि पहिलेजस्तो अँध्यारोमा बस्नुपर्ने बाध्यता हटेको बताउनुभयो । स्थानीय सुशीला बुढाले पनि वर्षौँवर्ष अन्धकारमा जीवन बिताएको र अहिले गाउँमा सोलार जडान भएपछि निकै खुसी लागेको बताउनुभयो ।
घरमा बत्ती भएपछि रातमा सर्प तथा अन्य किराकाँटीहरुको डर कम भएको उहाँले बताउनु भयो । अहिले बालबालिकालाई रातको समयमा पढ्न समेत सजिलो भएको छ । त्यस्तै उहाँले टुकी तथा लालटिन हुँदा बालबालिकाको लापरबाहीले गर्दा आगलागीको समेत जोखिम हुने गरेको थियो। अहिले, बत्तीको व्यवस्था भएपछि त्यो जोखिमसमेत हटेको उहाँले बताउनुभयो ।
वडाको विकट बस्तीका रुपमा रहेको बगासोतीखर्कमा २ लाख रुपैयाँ बजेटबाट १३ घरमा बत्तीको व्यवस्था गरिएको राप्ती गाउँपालिका(१ का अध्यक्ष तारा डीसीले जानकारी दिनुभयो । बागासोतीखर्कमा अति विपन्न परिवारहरु बसोबास गर्ने र त्यस गाउँमा घरहरु पनि टाढा–टाढा भएकाले विद्युत पुर्याउन समस्या भइरहेको अध्यक्ष डीसीले बताउनुभयो । अब विद्युत सेवा विस्तार गर्ने काम सुरु गरिने उहाँले बताउनुभयो ।।