१५ असार, दाङ –
नेकपा एमालेका नेता मेटमणि चौधरीले प्रधानमन्त्री केपी ओलीलाई रेबिज बिरुद्धको भ्याक्सिन दिनुपर्ने टिप्पणी गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालप्रति दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै चौधरीले यस्तो प्रतिक्रिया दिनुुभएको हो।
उहाँले एमालेका वरिष्ठ नेता नेपाललाई अपमान हुने शब्द प्रयोग गर्नु आपत्तिजनक भएको उल्लेख गर्नुभयो ।उहाँले भन्नुभयो–‘माधव नेपाल जस्तो वरिष्ठ नेतालाई ओलीले जुन अभिव्यक्ति दिएका छन्, पुच्छरको अभिव्यक्ति, कुकुर जस्तै अभिव्यक्ति, पशुको जस्तै अभिव्यक्ति दिएका छन् । त्यसको जवाफमा मैले त्यसो भनेको हुँ ।’
उहाँले अगाडि भन्नुभयो–‘प्रधानमन्त्री जस्तो मान्छेले जे मन लाग्छ त्यही बोल्न पाइँदैन नी त । अलि सोचेर बोल्नुपर्यो, अलि गम्भीर भएर बोल्नुपर्यो । देश चलाउने मान्छे कसैलाई बाँकी नराख्ने, कुकुरलाई पनि रेबिज लाग्यो भने सबैलाई टोक्दै हिँड्छ नि, ओलीलाई पनि अहिले रेबिज लागेजस्तै अदालतलाई गाली गर्छन्, आफ्नै नेतालाई गाली गर्छन् । विपक्षी दललाई गाली गर्छन् । जनतालाई गाली गर्छन्, सबैलाई गाली गरिरहेका छन् । त्यसैले रेबिजको लक्षण हो भन्ने लाग्यो मलाई । त्यसैले मैले लेखेको हुँ ।’
प्रधानमन्त्री केपी ओलीले नेता नेपाललाई आफूले प्रधानमन्त्री को प्रस्ताव गरेको हल्ला फैलाएको भन्दै आफूलाई बहुला कुकुरले नटोकेको अभिव्यक्ति दिनुुएको थियो। साथै नेता नेपाल प्रचण्डको पुच्छर भएको पनि उहाँको आरोप थियो । सो भनाइपछि नेता चौधरीले आपत्ति प्रकट गरेको बताउनुभएको छ । नेकपा एमाले दाङ क्षेत्र नंबर १ का निवर्तमान सांसद चौधरी एमालेमा माधव नेपाल पक्षधर नेता हुनुहुन्छ ।।