१५ जेठ, घोराही- सरकारले आज आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दैछ । दिउँसो ४ बजे बस्ने सङ्घीय संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्नुहुनेछ ।
नेपालको संविधानले नै जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । अर्थमन्त्रालयले आगामी बजेट कृषि क्षेत्रको विकास, औद्योगिक विकास र निजी क्षेत्रको लगानी प्रवद्र्धन, ऊर्जा क्षेत्रको विकास, स्वास्थ्य क्षेत्र र शिक्षाको विकास, पर्यटन क्षेत्रको पुनरुत्थानमा केन्द्रित हुने जनाएको छ ।
त्यसका लागि सरकारले करिव १७ खर्ब ४५ अर्बको बजेट ल्याउन लागेको छ। सरकारले चालू आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब रुपैयाँको बजेट ल्याएको थियो। आगामी वर्षका लागि चालू तर्फ १० खर्ब ५० अर्ब रुपैयाँ, विकास निर्माणका लागि ४ खर्ब ४० अर्ब रुपैयाँ र वित्तीय व्यवस्थापनका लागि सवा २ खर्ब बजेट विनियोजनको प्रस्ताव गरिएको छ।
यस्तै वैदेशिक ऋण तथा अनुदानबाट २ खर्ब ६० अर्ब रुपैयाँ जुटाउने योजना छ। प्रतिनिधि सभा बैठकबाट हिजो र राष्ट्रिय सभा बैठकबाट अस्ति आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम पारित भइसकेको छ ।।