२०८२ बैशाख ११ गते बुधवार

कांग्रेसका वडा सदस्य पदका उम्मेदवारको  मृत्यु



१६ बैशाख , मोरङ –

मोरङको केराबारी गाउँपालिकामा वडा सदस्य पदका एक उम्मेदवारको  मृत्यु भएको छ । नेपाली कांग्रेसबाट केराबारी वडा नम्बर २ का वडा सदस्यका उम्मेदवार नवीन लिम्बुको शुक्रबार बिहान मृत्यु भएको हो ।

अघिल्लो दिन भोट माग्ने अभियानमा सक्रिय भएर स्वस्थ अवस्थामा सुतेका उनी शुक्रबार अचानक बेहोस भएर ढलेको गाउँपालिका निवर्तमान अध्यक्ष रोहितबहादुर कार्कीले  बताए ।
उपचारका लागि केराबारी बजारतर्फ ल्याउँदै गर्दा लिम्बुको बाटैमा मृत्यु भएको पारिवारिक स्रोतले बतायो ।

मृत्युको कारण पत्ता लगाउन पोष्टमार्टमका लागि पठाइएको कार्कीले जानकारी दिए ।

चुनावअगावै उम्मेदवारको मृत्यु भएमा निर्वाचन आयोगले उक्त स्थानीय तहमा अर्को व्यक्तिको उम्मेदवारी दर्ताका लागि समय उपलब्ध गराउने कानुनी व्यवस्था छ ।

सोही प्रावधानअनुसार केराबारी वडा नम्बर २ मा नयाँ मनोनयन दर्ताका लागि समय थप हुने आयोग स्रोतले बतायो ।

यसैबीच केराबारी वडा नम्बर १ मा एमालेबाट वडा सदस्यमा उम्मेदवारी दिएकी पवित्रा लिम्बुको उम्मेदवारी रद्द भएको छ । उनले महिला स्वयंसेविकाका रुपमा तलब खाइरहेको भन्दै उजुरी परेपछि उम्मेदवारी रद्द भएको हो ।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button

प्रकाशित मिति : २०७९ बैशाख १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्