१६ बैशाख,घोराही । रुपन्देहीको बुटवलमा बिहीबार बिहान तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई पुरुष र एक महिला छन् । बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत मायादेवी गाउँपालिकी ६ कि ७२ वर्षिया महिलाको बिहान ३ बजे मृत्यु भएको हो ।
त्यस्तै बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का ३१ वर्षिया युवा र बुटवल वडा नम्बर १४ का अर्का ६६ वर्षिया पुरुषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले लोकान्तरलाई जानकारी दिए ।
बुटवल–११ का पुरुषमा वैशाख ८ गते कोरोना संक्रमण पुष्टि भएपछि र सोही दिन अस्पताल भर्ना गरिएको थियो । बुटवल–१४ का पुरुषमा वैशाख ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी पनि सोही दिन अस्पताल भर्ना भएका थिए । यसैगरी मायादेवीकी महिलामा वैशाख १० गते कोरोना संक्रमण पुष्टि भएकामा ११ गते अस्पताल भर्ना गरिएको थियो ।
रुपन्देहीमा २ हजार २१२ जना सक्रिय संक्रमित पुगेका छन् । बुधबार मात्रै रुपन्देहीमा ३ सय ८० जना नयाँ संक्रमित थपिएका थिए । कोरोना अस्पतालको आइसीयूमा हाल १२ जना संक्रमित उपचाररत रहेका डा। गौतमले जानकारी दिए । रुपन्देहीमा कोरोनाको दोस्रो लहर शुरू भएसँगै संक्रमण तीब्र रुपमा फैलिएको छ । बिहीबार बिहानदेखि रुपन्देही दुई साताको लागि निषेधाज्ञा जारी गरिएको छ ।