१७ फागुन, मकवानपुर-वाग्मती प्रदेशसभाको बैठक स्थगित भएको छ । बिहीबार दोस्रो पटकको बैठकपश्चात् सभामुख भुवनकुमार पाठकले फागुन २९ गते दिउँसो ३ बजेसम्मका लागि प्रदेशसभाको बैठक स्थगित गरेका हुन् ।
संसद्को पहिलो बैठकमा सरकार–प्रतिपक्षबीचको विवाद समाधान गर्न विशेष समिति गठन गरिएको थियो भने बैठकमा उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयबाट संसदमा दर्ता भएको प्रदेश हस्तकला ग्राम स्थापनासम्बन्धी विधेयक पेस गरिएको थियो । उक्त विधेयक उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले पेस गरेका थिए । त्यसपश्चात् १५ मिनेटका लागि स्थगित गरिएको प्रदेशसभा बैठक दिउँसो ३ बजेट पुनः बसेको थियो ।
बैठकमा संसद्मा पेस भएको प्रदेश हस्तकला ग्राम स्थापनासम्बन्धी विधेयकको सैद्धान्तिक छलफल भएको थियो । बैठकमा विधेयकमाथि उठेका प्रश्नको जवाफ मन्त्री चित्रकारले दिएका थिए । मन्त्री चित्रकारले पेस गरेको विधेयकलाई विचार गरियोस् भन्ने प्रस्तावलाई सभामुख पाठकले निर्णायार्थ पेस गर्दा सर्वसम्मतले स्वीकृत भयो ।