१५ माघ,घोराही- प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसको अवसरमा दाङको घोराहीमा दीप प्रज्वलन गरिएको छ । प्रेस सेन्टर दाङले स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ दाङको प्राङगनमा मैनवक्ती बालेर दीप प्रज्वलन गरेको हो । प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्माको अध्यक्षता एवं सेन्टरकी केन्द्रीय सदस्य लक्ष्मी आचार्यले प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा शहिद कृष्णसेन इच्छुकको तस्विर नजिकै दीप प्रज्वलन गरेर सुरु गरिएको हो ।
सेन्टरीकी केन्द्रीय सदस्य लक्ष्मी आचार्यले ठूलो योगदान र बलिदानीले स्थापना भएको प्रेस सेन्टरको इतिहास निकै गौरवपूर्ण रहेको बताउनुभयो । उहाँले विगतमा गरेको बलिदानी स्वरुप मुुलुकमा प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति लगायतका थुप्रै उपलब्धी प्राप्त भएको बताउनुभयो । त्यस्तै उहाँले जनपक्षीय र जनवर्गिय ढंगले पत्रकारिता गर्न आग्रह गर्नुभयो ।
त्यस्तै दिवसको अवसरमा तुलसीपुरमा मास्क वितरण गरिएको छ । शनिबार दिउँसो तुलसीपुर बजारमा प्रेस सेन्टर नेपाल तुलसीपुर शाखाले स्थापना दिवसको अवसरमा मास्क वितरण गरेको शाखाका अध्यक्ष दामोदर बस्नेतले जानकारी दिनुभयो ।
कोरोना महामारी कारणले गर्दा स्थापना दिवसमा कुनै कार्यक्रम नगरेको भन्दै पछिल्लो समय तुलसीपुरमा कोरोना संक्रमित बढि भएकाले कोरोना सङ्क्रमणबाट बच्न आग्रह गर्दै मास्क वितरण गरिएको थियो ।
त्यस्तै पछिल्लो समय तुलसीपुरमा कोरोना संक्रमण बढि भएयता पनि अझै बजारमा आउने नागरिकहरू, सवारी साधनमा यात्रा गर्ने यात्रु तथा चालकले समेत स्वास्थ्य मापदण्ड पालना नगरेको भन्दै स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह समेत गरेको बस्नेतले जानकारी दिनुभयो ।
तुलसीपुर बजारमा शाखाको सम्पूर्ण पदाधिकारीहरू तथा नेपाल प्रहरी, ट्राफिक प्रहरीको सहभागितामा सयौँको सङ्ख्यामा मास्क वितरण गरिएको र साथै तुलसीपुरका केही मिडिया हाउसलाई पनि मास्क तथा स्यानिटाइजर वितरण गरिएको शाखाका सचिव विकास डाँगीले जानकारी दिनुभयो । त्यस्तै आइतबार बाँकी रहेका मिडिया हाउसहरूमा पनि वितरण गर्ने डाँगीले जानकारी दिनुभयो ।