१६ माघ,घोराही ।
लुम्बनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा पूर्वाधार विकास प्राधिकरणको कार्यालय स्थापना गरिएको छ । गत असोज २० गते प्रदेश सभाको बैठकबाट प्रदेशको स्थायी राजधानी र नामको टुंगो लागेको थियो ।
प्रदेशको स्थायी राजधानीको गुरुयोजना बनाउन पूर्वाधार विकास प्राधिकरणको कार्यालय देउखुरीमा स्थापना गरिएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले आज पूर्वाधार विकास प्राधिकरणको उद्घाटन गर्दै अवको राजधानी नमूना हुने बताउनुभयो ।
राजधानी तोकिएको राप्ती गाउँपालिका, गढवा गाउँपालिकाको वडा नम्बर १, २ र ३, अर्घाखाँची शितगंगा नगरपालिकाको ८ र ९ नम्बर भित्र रहेको जमिनलाइ गुरुयोजना भित्र राखिने र नयाँ मोडेलका साथ अघि बढ्ने उल्लेख गर्नुभयो ।
डुबान क्षेत्रलाई निकास क्षेत्रको रुपमा विकास गर्दै खुला र फराकिलो सडक, व्यवस्थित ढल निकास, नदि किनारमा सुन्दर शहर बनाउने योजना सुनाउनुभयो । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले चालू आर्थिक बर्ष भित्र राजधानीको गुरुयोजना बनाइसक्नेगरी काम अघि बढेको जानकारी दिनुभयो ।।