१२ असोज,काठमाडौं –
अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाभाइरस खोपको तेस्रो डोज लगाएका छन् । बाइडेनले फाइजरको खोपको तेस्रो डोज लगाएका हुन् । उनले यसअघि नै यही खोपको २ डोज लगाइसकेका थिए । अमेरिकाले पछिल्लो समय २ डोज लगाइसकेका व्यक्तिहरुलाई बुस्टर डोज भन्दै तेस्रो डोज लगाउन थालेको छ । बाइडेनले यही बुस्टर डोज लगाएका हुन् ।
अमेरिकामा ६५ वर्षभन्दा बढी उमेरका व्यक्तिहरुले फाइजर खोपको बुस्टर डोज लगाउन सक्छन् । केही समय पहिले मात्र संघीय नियामक निकाय एफडीआइले यसको स्वीकृति दिएको थियो । द गार्डियनका अनुसार यही कारण राष्ट्रपति बाइडेनलाई बुस्टर डोज दिइएको हो । बाइडेन ७८ वर्षका छन् । बुस्टर डोज लगाउनुभन्दा पहिले बाइडेनले पत्रकारहरुसँग कुरा गर्दै धेरैभन्दा धेरै मानिसहरुलाई खोप लगाउनु सबैभन्दा जरुरी भएको बताए । बाइडेनले यसअघि पहिलो र दोस्रो डोज लगाउँदा पनि आफूलाई कुनै साइड इफेक्ट नभएको बताए ।
राष्ट्रपतिले आफ्नी पत्नी र अमेरिकाकी प्रथम महिला जिल बाइडेनलाई पनि बुस्टर डोज लगाइने बताए । अहिलेसम्म अमेरिकामा प्रमुख रुपमा मोडर्ना र फाइजर खोप लगाइएको छ । फाइजर खोपले मात्र बुस्टर डोजको अनुमति पाएको छ । मोडर्नालाई अनुमति दिनको लागि पूर्ण डेटाको प्रतिक्षा भइरहेको छ । यही कारण उपराष्ट्रपति कमला ह्यारिसले बुस्टर डोज पाउँछिन् कि पाउँदिनन् भन्ने स्पष्ट छैन किनकि उनले यसअघि मोडर्नाको खोप लगाएकी छिन् ।
अमेरिकामा छिटै जोन्सन एण्ड जोन्सनको बुस्टर डोजले पनि अनुमति पाउन सक्ने बताइएको छ । यस्तोमा अमेरिकाले कोरोनाका सम्भावित आउने लहरहरुबाट आफूलाई सुरक्षित गर्ने प्रयास गरिरहेको छ । तर, अन्य देशहरुले भने यो बुस्टर डोज सम्बन्धी अवधारणामाथि नै प्रश्न उठाइरहेका छन् । गरिब देशहरु अहिले पनि खोप संकटमा रहेको र त्यहाँका मानिसहरुले १ डोज पनि खोप नपाएको अवस्थामा अमेरिकाले खोप अभाव भएका देशहरुलाई खोप आपूर्ति बढाउनुपर्ने र त्यसपछि मात्र बुस्टर डोजबारे सोच्नुपर्ने माग गरिएको छ ।