१२ असोज,काठमाडौं –
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘संसद्को गतिरोध अन्त्य’ गर्न आग्रह गरेका छन् ।
मन्त्री कार्कीले ओलीकै निवासमा बालकोटमा मंगलबार भेटी यसरी लामो समय संसद् गतिरोधमा राख्दा सन्देश राम्रो नजाने उल्लेख गर्दै ‘अन्त्य गर्न’ आग्रह गरेका थिए । तर, मन्त्री कार्की स्पष्ट जवाफ नपाइकन फर्केका छन् ।
‘मैले तपाईंहरुका विषय सार्वभौम संसद्मै राख्नुहोस् र संसदको अवरोध चाहिँ अन्त्य गरौँ भन्ने प्रस्ताव राखे’ मन्त्री कार्कीले भने, ‘संसद् सुचारु गर्ने दायित्व तपाईं (प्रतिपक्षी)हरुको पनि भएको हुँदा गतिरोध अन्त्य गरौं भनेको छु ।’
तर, अध्यक्ष ओलीबाट स्पष्ट जवाफ नपाइकन मन्त्री कार्की फर्केका छन् । कार्कीले भने, ‘उहाँबाट छलफल निरन्तर राख्ने मात्रै बताउनुभयो ।’ तर कार्कीले संसदीय गतिरोध अन्त्य गर्न एमाले ‘लचिलो हुने’ संकेत चाहिँ पाएनन् ।
२०७८ भदौ २३ मा नवौं अधिवेशन शुरु भएयता षड्यन्त्रमूलक ढंगले एमाले विभाजन गरेको र एमाले छाड्ने चौध जना सांसद निस्काशन मागसहित नियमित रुपमा नारावाजी गरी संसद् अवरुद्ध पार्दै आएको छ ।