१२ असोज, काठमाडौं- लगातार रूपमा विपक्षी दलहरूले चौधरी ग्रुपले राजस्व तिरेको तथ्यांक सार्वजनिक नगरेको आवाज सडक र सदनमा उठाएपछि चौधरी ग्रुुपले चार वर्षको राजस्व तथ्यांक सार्वजनिक गरेको छ ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले सदनमा र एमाले अध्यक्ष केपी ओलीले हालै एक कार्यक्रममा चौधरीको राजस्व योगदानका विषयमा टिप्पणी गरेका थिए । सो टिप्पणीपछि चौधरी ग्रुपले सोमबार आर्थिक वर्ष २०७७र७८ मा नेपाल सरकारको राजस्वमा १४ अर्ब २८ करोड रुपैयाँ योगदान गरेको जनाएको हो ।
नेपाली कांग्रेसका सांसद एवं देशका प्रख्यात उद्यमी विनोद चौधरी नेतृत्वमा सञ्चालित उद्यम व्यवसायबाट एक वर्षमा सरकारी ढुकुटीमा उक्त रकम योगदान भएको हो । पछिल्लो वर्ष नेपाल सरकारको कुल राजस्वमा चौधरी ग्रुपको योगदान १ दशमलव ७३ प्रतिशत रहेको छ । एउटा व्यापारिक समूहबाट सरकारको राजस्वमा भएको सम्भवतः यो सबैभन्दा ठूलो योगदान हो ।
कोभिड–१९ का कारण विश्वव्यापी अर्थतन्त्र ओह्रालो लागेको, नेपालको समग्र अर्थतन्त्र शिथिल बनेको, निजी क्षेत्रद्वारा सञ्चालित उद्यम व्यवसायमा प्रत्यक्ष नकारात्मक असर परेको र आपूर्ति शृंखंला अवरुद्ध भई व्यापारिक कारोबारमा व्यापक गिरावट आएको समयमा ग्रुपले सरकारी ढुकुटीमा उक्त रकम योगदान गरेको हो ।
‘कोभिड–१९ का कारण राष्ट्रिय अर्थतन्त्र नै संकुचित भएको समयमा चौधरी ग्रुपले राजस्वमा गर्न सकेको उल्लेख्य योगदानकोे तथ्यले मलाई उत्साहित बनाएको छ,’ सांसद एवं ग्रुपका अध्यक्ष चौधरीले भने, ‘स्वास्थ्य संकटको व्यवस्थापन र कोभिड खोप खरिद लगायत सरकारका अत्यावस्यक दायित्व व्यवस्थापनमा यसले महत्वपूर्ण भूमिका निर्वाह गरेको होला भन्ने मैले विश्वास लिएको छु ।’
विगत चार आर्थिक वर्षमा चौधरी ग्रुपले नेपाल सरकारको राजस्वमा ४५ अर्ब ५० करोड रुपैयाँ योगदान गरेको जनाएको छ ।, यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।