२०८२ बैशाख ११ गते बुधवार

चिकित्सकमाथि आक्रमण गर्ने तुलसीपुरका ३ जना पक्राउ



१४ जेठ,घोराही –

नेपालगन्जस्थित भेरी अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन् । कोभिड बिरामीको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको भन्दै नर्सिङ संघ बाँकेले आज अस्पताल परिसरमै प्रदर्शन गरेको हो ।

चिकित्सकमाथि आक्रमण गरेको अभियोगमा प्रहरीले दाङका ३ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको भन्दै तुलसीपुर उपमहानगरपालिका ११ उरहरीका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

कोरोना संक्रमित ५४ वर्षीय डिल्लीराज रावतको हिजो बेलुका उपचारको क्रममा निधन भएको थियो । जेठ ४ गते भर्ना गरिएका रावतको अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेका थिए ।

अस्पतालका अनुसार मृतकका आफन्तहरूले भेन्टिलेटरमा राखेपछि मृत्यु भएको भन्दै डा. चन्द्रप्रकाश साहु र नर्सहरू अस्मिनी गुरुङ र सदीक्षा गैरैमाथि हातपात गरेका थिए ।

कोभिड कक्षमा तोडफोड गर्दै ज्यान मार्ने शैलीमा आक्रमण गर्न थालेपछि चिकित्सक तथा नर्ससहित ४ जनाले एकतला माथिबाट हामफालेर ज्यान बचाएको बताएका छन् ।

बिरामीका आफन्तले भने चिकित्सकको लापरबाहीले ज्यान गएको आरोप लगाएका छन् । घटना छानबिन गर्न स्थानीय प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा समिति बनाएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्