१४ चैत्र, रोल्पा – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई अप्ठेरो पर्दा सधैँ रोल्पा सम्झने गरेको बताएका छन् । पूर्वप्रधानमन्त्री प्रचण्डले रोल्पा सदरमुकाम लिवाङमा आज सोमवार आयोजित जनसभालाई सम्बोधन गर्दै ‘विगतमा पनि आफूलाई अप्ठेरो पर्दा रोल्पा आइ नयाँ ऊर्जा लिएर फर्कन्थेँ ।’ पछिल्लो राजनीतिक परिवर्तनमा रोल्पाको ठूलो योगदान रहेको प्रचण्डले स्मरण गर्नुभयो ।
‘हिजो क्रान्तिको किल्ला रहेको रोल्पा अब विकास र समृद्धिको किल्ला बन्नुपर्छ’, प्रचण्डले भन्नुभयो । माओवादी केन्द्र जिल्ला समन्वय समिति रोल्पाले आयोजना गरेको जनसभामा प्रमुख अतिथि रहनुभएका प्रचण्डले दश वर्षे सशस्त्र युद्धको स्मरण गर्नुभएको हो । सशस्त्र युद्धलाई नयाँ उचाइ दिन रोल्पा र रुकुमले आधार इलाकाका रूपमा महत्त्वपूर्ण भूमिका खेलेको प्रचण्डको भनाइ थियो ।