१६ फागुन,घोराही – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दिपक गिरीले विकासका लहर रोक्न खोज्नेहरुले हारेको बताएका छन् । दाङमा सुरु भएको प्रथम खुमबहादुर खड्का स्मृति पुरुष खुला भलिवल प्रतियोगिता–२०७८ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता गिरीले एमसीसीले विकासको क्षेत्रमा काम गर्ने बताएका हुन् । उनले भने, ‘विगतमा पनि विकासका लहर ल्याउँदा रोक्न खोज्नेहरुले एमसीसीलाई रोक्न पनि प्रयास गरेका थिए । तर, हिजो संसदबाट सहज ढङ्गले एमसीसी पास भएको छ । एमसीसी पास हुनु विकास विरोधीहरुको हार हो, उनले भने ।
जिल्लाको घोराहीस्थित सहिद मञ्चमा आयोजित भलिबल प्रतियोगिताको कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिपक गिरीले उद्घाटन गरेका हुन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गिरीले खेलले शरीरलाई स्वस्थ, फुर्तिलो र निरोगी बनाउन महत्वपुर्ण भुमिका खेल्ने बताए ।
कांग्रेस नेता खुमबहादुर खड्काको सम्झनालाई चिरस्थायी बनाउन यस्ता खेलकुद कार्यक्रमले सहयोगी हुने बताए । कांग्रेसको राजनीतिक इतिहासमा नेता खुमबहादुरको योगदानलाई खेलकुद माध्यमबाट सदैव जीवन्त बनाइराख्ने नेता गिरिले बताए ।
त्यस्तै कार्यक्रममा अर्का केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले खेलकुद स्वास्थ्यका लागि अत्यन्त फाईदाजनक रहेको र खेललाई कांग्रेसले उच्च प्राथमिकता दिने कुरा सन्देश दिएको बताए । लुम्बिनी प्रदेशका ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री अर्जुनकुमार श्रेष्ठले खेलले व्यक्तिको शारीरिक मात्र नभइ राष्ट्रको पहिचान पनि गराउन बताएका छन् । मन्त्री श्रेष्ठले भने, ‘स्वर्गीय नेता खड्काका् स्मृतिमा गरिएको भलिवल प्रतियोगिता कार्यक्रमले उहाँप्रति थोरै भए पनि न्याय गर्न सकेको महसुस भएको छ ।
त्यस्तै कांग्रेस लुम्बिनी प्रदेशका उप सभापति राजु खनालले खेलले सबैलाई जोड्ने भन्दै कांग्रेसलाई एकताबद्ध बनाई राख्न र युबा पङ्क्तिलाई गोलबद्ध गराउन पार्टीले राख्ने यस्ता कार्यक्रमले महत्वपुर्ण भुमिका रहने चर्चा गरे । प्रतियोगितामा दाङका दशवटै पालिकाहरुको सहभागिता रहेको कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले जानकारी दिए। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्काको स्मृतिमा फागुन १६ गतेदेखि २२ गतेसम्म भलिवल प्रतियोगिता सन्चालन हुनेछ ।
आयोजक खुमबहादुर खड्का स्मृति खेलकुद समितिका संयोजक राजु आचार्यले सर्वाधिक राशीको भलिबल प्रतियोगिता जिल्लामै पहिलो पटक हुन थालेको बताए । जिल्लामा सवैभन्दा ठुलो धन राशीको प्रतियोगिताको बिजेता टिमले नगद २ लाख रुपैया र उपबिजेता हुने टिमले नगद १ लाख रुपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गर्ने एक जना खेलाडीलाई नगद पाँच हजार एक सय रुपैया पुरस्कार प्रदान गरिने भएको छ ।
लिककम नकआउटको आधारमा खेलाइने खेलमा प्रत्येक टिमले दुई जना जिल्ला बाहिरका खेलाडीहरुलाई सहभागी गराउन पाउने व्यवस्था गरिएको खुमबहादुर खड्का स्मृति खेलकुद समितिका संयोजक आचार्यले बताएका छन् । प्रतियोगिताले खेलाडीहरुको हौसल्ला बढाउनेदेखि गाउँस्तरमा रहेका खेलाडीहरुको प्रतिभा पहिचानका लागि समेत सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
नेपाली काङ्ग्रेस दाङ जिल्लाका सभापति शंकरप्रसाद डाँगीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा क्षेत्र नं. २ का क्षेत्रीय सभापति भीमप्रकाश खड्का, दाङ जिल्ला पूर्व पार्टी सभाति वीरकेशरी गौतम, महाधिवेशन प्रतिनिधि सावित्रा राणा लगायत शुभकामना मन्तव्य राखेका थिए । जिल्ला उपसभापति कमानसिं भारतीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अर्का उपसभापति गिरिराज सुवेदीले धन्यवाद ज्ञापन गरेका थिए भने सचिव अर्जुन योगीले कार्यक्रमको सहजीकरण गरेका थिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री समेत रहेका स्वर्गीय नेता खुमबहादुर खड्काको २०७४ चैत १६ गते उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थीत एपोलो ६७ बर्षको उमेरमा निधन भएको थियो ।