१६ फागुन, काठमाडौं- काभ्रेपलाञ्चोकको बनेपामा सोमबार शंकास्पद वस्तु फेलापरेको छ । उक्त वस्तुका कारण अहिले अरनिको राजमार्ग अवरुद्ध छ ।
अरनिको राजमार्गअन्तर्गत बनेपा, पुलबजारमा शंकास्पद वस्तु फेलापरेको हो । भक्तपुरबाट साँगा हुँदै बनेपातर्फ जाने–आउने सवारीसाधनलाई ड्राइभर्सन गरेर सञ्चालन गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
सवारीसाधन भक्तपुरबाट नालाको बाटो हुँदै बनेपातर्फ जान–आउन सक्नेछन् । काठमाडौं उपत्यकाको सवारी आवागमन भने सामान्य छ । बिहानको समयमा सडकमा सवारीसाधनको संख्या कम रहेका कारण सवारी आवागमन सामान्य रहेको जनाइएको छ ।
विभिन्न नाका प्रयोग गरी उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन पनि सामान्य रूपमा सञ्चालन भइरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।।