१३ माघ,घोराही- दाङका कतिपय पालिकाहरुमा आईसोलेशन खाली भएका छन् । जिल्लाका पालिकाहरुमा कोरोना संक्रमितहरु होम आईसोलेशनमा बस्न थालेपछि आईसोलेशन सेन्टरका वेड खाली बनेका छन् । देउखुरीको राप्ती गाउँपालिका,गढवा गाउँपालिका र बंगलाचुली गाउँपालिकामा कोरोना संक्रमित विरामीहरुका लागी आईसोलेशन सेन्टर तथा स्वास्थ्य चौकीमा तयारी अवस्थामा राखिएका वेडहरु खाली भएका छन् । ती पालिकाहरुमा संक्रमित भएका विरामीहरु अधिकांश सामान्य अवस्थाका भएपछि घरमै बस्न थालेका छन् ।
तर कतिपय कोरोना विरामी जटिल खाललाई ती पालिकाहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र राप्ती प्रादेशिक अस्पताल कोभिड ईकाई तुलसीपुरमा पठाउने गरेको सम्बन्धित पालिकाका स्वास्थ्यकर्मीहरुले बताएका छन् । त्यो भन्दा अझ जटिल समस्या भएका कोरोना विरामीलाई जिल्ला बाहिर पठाउने गरिएको उनीहरुले बताएका छन् । गढवा गाउँपालिकामा तयारी अवस्थामा राखिएको २५ बेडको आईसोलेसन अस्पताल अहिले सुनसान जस्तै बनेको छ ।
यता राप्ती गाउँपालिकामा २० बेडको आईसोलेन सेन्टर तयारी गरिएको छ ।
तर सबै होम आईसोलेसनमा बसेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण रावतले जानकारी दिए । हाल सक्रिय संक्रमितको संख्या ९३ जना रहेको संयोजक रावतले बताउनुभयो। पालिकामा भएका सक्रिय संक्रमित सबै होम आईसोलेसनमा रहेको गढवा गाउँपालिका स्वास्थ्य शाखा संयोजक कैलाशचन्द्र चौधरीले जानकारी दिनुभयो ।
त्यसैगरी बंगलाचुली गाउँपालिकामा २० बेडको आईसोलेसन सेन्टर बनाईएको छ । तर संक्रमित सबै होम आईसोलेसनमा बसेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक भक्त बहादुर जिसीले जानकारी दिनुभयो। उक्त पालिकामा संक्रमित हुनेको संख्या १ सय ८० पुगेको छ । पालिकामा अहिले सक्रिय संक्रमितको संख्या १० जना रहेको छ । कोरोना संक्रमणका कारण अहिले सम्म ५ जनाको मृत्यु भएको समेत स्वास्थ्य कार्यालय संयोजक जिसीले बताउनुभयो ।।