२०८१ फाल्गुन ३ गते शनिवार

सल्यानमा एउटै किसानको २३ लाखको सुन्तला



१२ पुस, सल्यान- सल्यानको छत्रेश्वरी गाउँपालिकामा किसानहरूले सुन्तला खेतीलाई व्यवसायिक बनाउँदै आफ्नो आर्थिक अवस्था उल्लेखनीय रूपमा सुधार गरेका छन् । वडा नम्बर १, २ र ५ मा राम्रो सुन्तला उत्पादन हुने गरेको छ । छत्रेश्वरी गाउँपालिकाको कृषि विकास शाखाको विवरण अनुसार यी ३ वडाको १००.७ हेक्टर क्षेत्रफालमा सुन्तला खेती हुँदै आएको छ ।

यहाँका एक हजार ६२६ बढी घरपरिवार सुन्तला खेतीमा संलग्न छन् । वडा नं १ मा ७ सय बढी, वडा नं. २ मा ६ सय बढी र वडा नं.५ मा करिब ३ सय घरपरिवारले सुन्तला खेती गरिरहेका छन् । पहिले परम्परागत खेतीबाट घर चलाउन मुस्किल हुने गरेकोमा अहिले सुन्तला खेतीले आफ्नो परिवारको जीवनस्तरमा परिवर्तन आएको किसानहरू बताउँछन् ।
छत्रेश्वरी २ डिग्रेका किसान बेल बहादुर घर्तीले सुन्तला खेतीबाट मात्रै वार्षिक २३ लाख रूपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । ‘कम भएको साल ११ लाख रूपैयाँ सम्म आम्दानी हुन्छ, नत्र भने मैले १५ देखि २३ लाखसम्म आम्दानी गर्ने गरेको छु’, उनले भने । सुन्तलाका बोट २५०० पु¥याउने लक्ष्यका साथ व्यवसायिक सुन्तला खेतीमा लागेका बेल बहादुरको अहिले १५०० बोट छन् । जसमध्ये ५०० बोटले फल दिइरहेको र अरू १००० बोट तयार हुँदै गरेको उनको भनाइ छ ।

यसैगरि छत्रेश्वरी १ मयानीका हिम बहादुर शाहीको बगैंचामा पनि ७०० बढी सुन्तलाका बोट छन् । वार्षिक १० देखि १२ लाख रूपैयाँसम्म आम्दानी हुने गरेको उनको भनाइ छ । वडा नं. १ मा केशर बहादुर खत्री लगायतका किसानले पनि सुन्तला बिक्रीबाट मनग्ये आम्दानी लिने गरेका छन् । सुन्तला खेतीका लागि हावापानी र माटो उपयुक्त भएका कारण सुन्तला खेती यस क्षेत्रका किसानहरूको आयको प्रमुख स्रोत बन्दै गएको छ । राम्रो आम्दानी हुँदै गएपछि किसान सुन्तला खेतीमा आकर्षित भएका छन् । गत वर्ष सल्यानमा एक हजार आठ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन भएको तथ्यांक छ ।

सुन्तला खेतीलाई प्रवद्र्धन गर्न र किसानहरूलाई विभिन्न सहयोग प्रदान गर्नका लागि छत्रेश्वरीको वडा नं. १ र २ मा सुन्तला जोन कार्यक्रम समेत लागू भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले मल, बिउ, यान्त्रिकीकरण, नर्सरी खेती बिस्तार, बगैंचा बिस्तार तथा बगैंचा सुधार लागायतका कार्यक्रम र योजना सञ्चालनका लागि छत्रेश्वरी संगै बागचौर नगरपालिका, सिद्धकुमाख गाउँपालिका र कुमाख गाउँपालिकामा सुन्तला जोन कार्यक्रम लागू गरेको हो । जसका लागि सुन्तलाजात फलफूल सञ्चालन समन्वय समिति पनि गठन गरिएको छ ।

किसानहरूले सुन्तला उत्पादनबाट वार्षिक लाखौं रूपैयाँ आम्दानी गर्दै आएका छन् । यद्यपी रोगव्याधि, बजार व्यवस्थापनको अभाव र चिस्यानयुक्त भण्डारणको सुविधा नहुनु मुख्य चुनौती बनेका छन् । सरकारी तवरबाट किसानहरूलाई तालिम, अनुदान जस्ता सहयोग प्रदान भएतापनि त्यो अझै पर्याप्त छैन । विशेष गरेर किसानहरूले शीत भण्डारणको व्यवस्था गर्न माग गरेका छन् ।

सल्यानको उर्वर भूमि, अनुकूल मौसम र किसानहरूको परिश्रमले सुन्तला खेती यहाँको पहिचान बनेको छ । सरकारी निकाय तथा सरोकारवालाहरूले खेती, बजारिकणमा देखिएका समस्या एवम् चुनौतीहरूको व्यवस्थापनमा ठोस योजनासहित आवश्यक कदम चाल्ने हो भने सल्यान सुन्तला उत्पादनको उत्कृष्ट नमुनाको रूपमा विकास भई आम्दानीको दरिलो माध्यम बन्ने देखिन्छ ।

प्रकाशित मिति : २०८१ पुष १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्