१२ पुस,घोराही – उच्च हिमाली जिल्ला हुम्लामा हिजो साँझदेखि मौसममा फेरबदल आएसँगै हिमपात भएको छ । हिमपात हुँदा यहाँको जनजीवन प्रभावित बन्दै गएको छ । यहाँको तापक्रम माइनस ११ डिग्री सेलसियस भन्दा तल पुगेपछि स्थानीयलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ ।
अहिले सिमकोटमा बाक्लो हिउँ जमेको छ भने उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ । क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका गाउँमा चिसो अत्याधिक बढेको छ ।
लगातारको हिमपातले उत्तरी छिमेकी देश चीनसँग सीमा जोडिएको नाम्खाको लिमी र मुचुका बासिन्दालाई घरबाट बाहिर निस्कन समेत समस्या परेको नाम्खाका मुचुका लामाले जानकारी दिनुभयो ।
गएको मङ्सिर महिना सुरु भएदेखि नै तापक्रम माइनसमा गएको सदरमुकाम सिमकोटमा यो हिमपातले चिसो अत्याधिक बढेको छ । जाडोले जिल्लाका सुरक्षाकर्मीलाई समेत समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।।