२०८२ बैशाख ९ गते सोमवार

फागुनदेखि कृषकलाई परिचयपत्र वितरण गरिने कृषिमन्त्री अर्यालको भनाई



१२ पुस,काठमाडौं ।

नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा कुमारी अर्यालले समृद्ध नेपाल निर्माणका लागि उर्जाशील जनशक्तिलाई कृषि क्षेत्रमा आकर्षित गर्नुपर्ने बताएकी छिन् ।

आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री अर्यालले कोभिडका कारण विदेशबाट फर्किएका उर्जाशील जनशक्तिलाई कृषि क्षेत्रमा आकर्षित गर्न विभिन्न कार्यक्रमहरु ल्याउनु पर्ने दायित्व मन्त्रालयको भएको बताइन् । यसलाई ध्यान दिएर कार्ययोजना बनाई अगाडि बढ्नु पर्ने पनि मन्त्री अर्यालले बताइन् ।

कृषिका सम्भावना र समस्या दुवै भएकाले त्यसको विश्लेषण गरी कार्ययोजना बनाई छलफल गरी निकास दिनुपर्ने पनि उनको भनाइ थियो । निवर्तमान मन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा केही नीतिगत स्पस्टता तयार पारेको जानकारी पाएको उल्लेख गर्दै राम्रा कामलाई अध्ययन गरी अगाडि बढाउने समेत बताइन्।

मन्त्री अर्यालले रासायनिक मलको विषयमा किसानहरुको मागलाई सम्बोधन गरी सधैंका लागि समस्या समाधान गरिने पनि बताइन् । त्यसका लागि सात वटै प्रदेशमा २५ हजार मेट्रिक टन क्षमताको रासायनिक मल भण्डारको स्थापना गर्ने समेत मन्त्री अर्यालले बताइन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत देशका सबै डाँडाकाँडालाई हरियाली बनाउने र दुनियाँलाई हेर्न आउने बनाउने अठोट व्यक्त गरिन् । यस्तै किसानलाई तालिम र वर्गीकरण गरी परिचयपत्र दिने पनि बताइन् । मन्त्री अर्यालले किसानलाई वर्गीकरण गरी फागुनदेखि कृषक परिचयपत्र वितरण गर्ने र पशुपन्छीको नश्ल सुधार गर्ने कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा आजै हस्ताक्षर समेत गरेकी छिन् ।

प्रकाशित मिति : २०७७ पुष १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस्