घोराही, ११ मंसिर –
नेकपा माओवादी केन्द्रले आजदेखि दाङ सहित देशभरका पालिकास्तरको सम्मेलन आयोजना गरेको छ । आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरेको माओवादी केन्द्रले आज ७ सय ५३ वटै पालिकामा सम्मेलन आयोजना गरेको हो । यता दाङका दशवटै पालिकामा सम्मेलन अहिले पनि जारी छ । घोराहीमा सम्मेलनको उद्घाटन गर्दै पार्टीका प्रबक्ता कृष्णबहादुर महराले पार्टी नयाँ क्रान्तिकारी पार्टीकारुपमा अघि बढाउने बताउनुुभयो ।
अबको लक्ष्य विभाजित मानसिकताबाट मुक्त भएर नयाँ एकतासहितको क्रान्तिकारी पार्टी बनाउने भएको बताउनुुभएको हो । देशमा परिवर्तन चाहाने क्रान्तिकारी शक्तिहरु एकतावद्ध भएर अब छिटै नयाँ मोडलको क्रान्तिकारी कम्युनिष्ट पार्टी बन्ने महराको दावी छ ।
यसैगरी महराले राजपुुरमा पनि आजै सम्मेलनको उद्घाटन गर्नुभयो । उता तुुलसीपुर र बबईमा राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा, राप्तीमा प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारु, लमहीमा प्रदेशसभा सदस्य दामा शर्मा, गढवामा केन्द्रीय सदस्य नारायणी शर्मा, शान्तिनगरमा केन्द्रीय सदस्य निर्मल आचार्य, दंगिशरणमा केन्द्रिय सदस्य हेमराज शर्मा र बंगलाचुुलीमा जिल्ला इन्चार्ज जीवन गौतमले सम्मेलनको उद्घाटन गर्नुभएको छ ।
माओबादी केन्द्रले उपमहानगरमा ८१ सदस्यीय, नगरपालिकामा ६५ सदस्यीय र गाउँपालिकामा ५५ सदस्यीय कार्य समिति गठन गर्दै छ । सबै पालिकामा सर्बसहमतीबाट नेतृत्व चयन गर्ने माओबादी केन्द्रले निति बनाएको छ । सोही अनुसार नेतृत्व छान्ने काम भैरहेको सो पार्टीले जनाएको छ ।
माओवादी केन्द्रले यही मङ्सिर २५ गते प्रदेश सम्मेलनको आयोजना गर्ने बताएको छ । मङ्सिर ४ गते सबै वडाको सम्मेलन गरी नयाँ नेतृत्वसमेत चयन भइसकेको छ । दाङका तीन वटा वडामा भने विभिन्न कारणले सम्मेलन हुन सकेको छैन् ।
यसैविच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी भित्र देखिएको कमजोरीको निर्मम आत्मसमीक्षा जरुरी रहेको बताउनुभएको छ ।
पार्टीको पालिकाको अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियामा आएपछि आफ्नो पार्टीभित्र विचार संश्लेषणको पक्षमा कमजोरी भएको स्वीकार गर्नुभयो । उहाँले केही महिनाभित्र माओवादी केन्द्र एक नम्बर पार्टी बन्ने दाबी समेत गर्नुभएको छ ।।