२०८१ मङ्सिर १६ गते आइतवार

दाङका पाँच पालिकामा एमालेले छान्यो सर्वसम्मत नेतृत्व (सूचीसहित)



१० कात्तिक,घोराही – नेकपा एमालेले दाङका पाँचवटा पालिकामा नेतृत्व चयन गरेको छ । १० वटा स्थानीय तहमध्ये पाँच पालिकामा सर्वसम्मतबाट नयाँ नेतृत्व छनोट गरेको एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिनुभयो । उहाँले बाँकी पाँच पालिकामा पनि सर्वसम्मतको प्रयास भए पनि अहिलेसम्म सर्वसम्मत हुन नसकेको बताउनु भयो ।

सचिव बुढाथोकीका अनुसार अहिलेसम्म घोराही उपमहानगरपालिका, बंगलाचुली गाउँपालिका, शान्तिनगर गाउँपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकामा नयाँ नेतृत्व टुंगो लागेको छ । गढवा गाउँपालिकामा बाबुराम अधिकारीको अध्यक्षतामा ५३ सदस्यीय गाउँपालिका कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा मदा न्यौपाने, सचिवमा शिवराज पन्थी, उपसचिवमा केशरी गिरी र मानबहादुर वली चयन हुनुभएको छ ।

त्यसैगरी राजपुर गाउँपालिकामा हेमकुमार जीसीको अध्यक्षतामा ४१ सदस्यीय कमिटी बनेको छ । उपाध्यक्षमा गोविन्द नेपाली, सचिवमा मन्साराम यादव, उपसचिवमा सिमाली झाँक्री र लोकबहादुुर खड्का चयन हुनुभएको छ । बंगलाचुलीमा पुष्पराज भण्डारीको अध्यक्षतामा ४७ सदस्यीय कमिटी बनेको नेकपा एमालेका प्रदेश कमिटि सदस्य तथा बङ्गलाचुलि गाउँपालिकाका लागि जिल्ला प्रतिनिधीरुपमा खटिएका बलिभद्र रानाले बताउनु भयो । उपाध्यक्षमा भीमबहादुर खत्री, सचिवमा भोजराज पन्त र उपसचिवमा धनबहादुर खड्का चयन हुनुभएको छ ।

यसैगरी घोराही उपमहानगरपालिकामा भुवन चौधरी अध्यक्षमा निर्वाचित हुनुभएको छ । घोराहीमा चौधरीको अध्यक्षतामा ७९ सदस्यीय नयाँ कमिटी गठन भएको हो । नवगठित कमिटीको उपाध्यक्षमा तारा पुरी, सचिवमा इन्द्र बुढाथोकी, उपसचिमा काशी खनाल र कुलबहादुर गोतामे चयन हुनुभएको छ ।
यस्तै, नेकपा एमाले शान्तिनगर गाउँपालिकाको अध्यक्षमा धनबहादुर केसी, उपाध्यक्षमा थम्मन कनौ, सचिवमा टीकाराम रिजाल, उपसचिवमा राकेश बुढाथोकी र शान्ति कँडेल चयन हुनुभएको छ । शान्तिनगरमा ४३ सदस्यीय कमिटी बनेको छ ।।

प्रकाशित मिति : २०७८ कार्तिक १० गते बुधवार
प्रतिक्रिया दिनुहोस्