१० कात्तिक,घोराही – बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज बुधबार विश्वासको मत लिन लाग्नुभएको छ । विश्वासको मत लिने प्रयोजनका लागि बिहान १० बजे बागमती प्रदेशसभा बैठक बस्दैछ ।
मुख्यमन्त्री शाक्यले प्रदेशसभामा पेश गर्नुभएको विश्वासको मत लिने प्रस्तावमाथि ४ कात्तिकमा छलफल भइसकेको छ । आज बुधबार मतदान हुन लागेको हो ।
प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार सत्तापक्ष र प्रतिपक्षलाई मतदानका लागि छुट्टाछुट्टै कक्षको व्यवस्थापन गरिएको छ ।
एमाले विभाजनको डिलमा रहेका बेला शाक्य मुख्यमन्त्री बन्नुभएको थियो । तर, एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादीले शाक्यलाई साथ नदिएपछि उहाँ अल्पमतमा पर्नुभएको हो ।
बागमतीमा कांग्रेस र एकीकृत समाजवादीले आलोपालो सरकार चलाउने सहमति गरिसकेका छन् । जस अनुसार मुख्यमन्त्रीमा एकीकृत समाजवादी बागमती प्रदेशको संसदीय दलको नेता राजेन्द्र पाण्डेलाई प्रस्ताव गरिएको छ । त्यसैले कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनले शाक्यलाई विश्वासको मत दिने छैन ।
बागमतीमा सभामुखसहित १०९ सांसद छन् । शाक्यले विश्वासको मत पाउन ५५ मत ल्याउनु पर्ने भए पनि एमालेसँग ४३ मत मात्र छ । कांग्रेसको २२, नेकपा माओवादीको २३ र एकीकृत समाजवादीको १३ मत छ । यसैगरी, विवेकशील साझाको ३, नेमकिपा २, राप्रपा २ र स्वतन्त्र सांसदको १ मत छ ।