११ कात्तिक । दाङमा एक व्यक्ति वाँया खुट्टा छिनिएको अबस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं.११ नवलपुर निवासी ४५ वर्षीय कुमार विकलाई प्रहरीले सोमबार राति १० तिर बाँया खुट्टा छिनिएका अबस्थामा फेला पारेको हो ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुलसीपुर १२ गोलौरीमा उक्त आक्रमण भएको जानकारी आएको छ । खुट्टा छिनिएको र दुबै हातमा गम्भीर चोटलागेपछि उनलाई सोमबार राति नै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारकालागि कोहलपुर रेफर गरिएको थियो ।
डीएसपी सिंहका अनुसार अत्याधिक रक्तस्राब भएकाले कोहलपुरबाट पनि काठमाडौं लैजाने तयारी भएको भनि जानकारी आएको छ । उनी गोलौरीमा भान्जाको विहे खान गएको र त्यहाँबाट घर तर्फ फर्किने क्रममा पढ्ढा र गौलौरीको बीचको एकान्त स्थलमा अपरिचित समुहले सांघातिक आक्रमण गरेको हुन सक्ने प्रहरीको भनाई छ ।
आक्रमण गर्ने व्यक्तिको पहिचान हुन सकेको छैन् । खोजी कार्य भने जारी रहेको डीएसपी सिंहले बताए । स्थानीयले दिएको जानकारी अनुसार सोमबार बेलुका त्यहाँका चौधरी युवाहरुबीच झडप भएको र ती दुई समूहमध्ये एक समूहले विकलाई नचिनेर आक्रमण गरेको हुन सक्छ ।