२०८१ चैत्र १० गते आइतवार

बाँच्ने आश मारिसकेका ७३ यात्रु जब धावनमार्गमा उत्रिए…



११ असोज,काठमाडौँ-
बुद्ध एयरको विमान सोमबार बिहानै काठमाडौँबाट विराटनगरतर्फ उडेको थियो । तर, उक्त जहाज अवतरणको तयारी गर्ने क्रममा दायाँतर्फको पाङ्ग्रा खुलेको थिएन । सबै उपाय अपनाउँदा पनि पाङ्ग्रा नखुलेपछि विराटनगरको तुलनामा काठमाडौँमा अवतरण गर्न उपयुक्त हुने ठानेर सो जहाजलाई काठमाडौँ फर्काइएको थियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन सकेन । दायाँ तर्फको पाङ्ग्रा बाहिर निस्कन नसकेका कारण रनवेमा अवतरण हुन नसकी विमानले आकाशमै फन्को मारिरह्यो ।

विराटनगर पुगेपछि ल्याण्डिङ किन भएर रु भनेर सोध्दा जहाजमा समस्या भयो भन्ने जवाफ पायौँ । क्याप्टेनले ६र७ पटक ल्याण्डिङ प्रयास गरे पनि सफल भएन । काठमाडौँ आउँदासम्म खासै डर लागेको थिएन । तर, काठमाडौँ पुग्दा पनि पटक पटक ल्याण्डिङको प्रयास असफल भएपछि मनमा चिसो लाग्यो ।

त्रिभुवन विमानस्थलमा आधा दर्जन बढी दमकल, एम्बुलेन्स र उद्धारकर्मीहरू तैनाथ अवस्थामा रहेको देख्यौँ । त्यसपछि जिन्दगी यत्ति नै रहेछ, बाचिँदैन, दुर्घटना हुन्छ नै भन्ने लाग्यो । रुवाबासी चल्न थाल्यो । कतिले त जहाजबाटै हाम फाल्छौँ, ढोका खोलिदिनुस् भन्न थाले ।

तर, एयर होस्टेजले सक्दो बचाउने प्रयास गर्छौँ, इन्धन सक्दैछौं, त्यसपछि जहाजमा आगो लाग्दैन भनेर सम्झाइ रहनुभयो, बेला बेलामा । तर, हामीलाई सम्झाउँदा एयर होस्टेसको आँखामा आँसु थियो । मैले त जिन्दगी यत्ति नै रहेछ, बाचिँयो भने फेरि भटौंला भनेर घरमा मेसेज लेखिसकेको थिए ।

क्याप्टेनले अन्तिम पटक प्रयास गर्छु भन्दै ल्याण्डिङको प्रयास गर्नुभयो र सफल पनि भयो । जहाज सुरक्षित अवतरण भयो । जहाजमा रहेका ७३ यात्रु र चालक दलका सदस्य पनि बाच्न सफल भयौं । सोमबार बिहान ल्याण्डिङ गियरमा समस्या देखिएपछि विराटनगरबाट फर्केर काठमाडौँमा अवतरण भएको बुद्ध एयरको जहाजका यात्रु प्रताप लिम्बुले सञ्चारकर्मीलाई सुनाएको अनुभव । ।

प्रकाशित मिति : २०७८ असोज ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस्