११ असोज, घोराही –
आज ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि मनाइँदैछ । कोभिड–१९ महामारीकै बीच स्वास्थ्य मापदण्डको पालना गरी भौतिक उपस्थितिमै सहभागी भएर दिवस मनाउन लागिएको छ ।
दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकार संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् । दिवस मनाउन पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको अध्यक्षतामा मुल समारोह समिति गठन गरिएको छ ।
सरकारले खोपको मात्रा पूरा गरेका विदेशी पर्यटकलाई ‘अनअराइभल भिसा’ उपलब्ध गराएसँगै पर्यटन क्षेत्रमा उत्साह छाएको छ । सीमा नाका खोल्ने र क्वरेण्टीनको व्यवस्था पनि हटाउने व्यवस्था मिलाएको छ ।
यसले महामारीबाट थलिएको पर्यटन क्षेत्र चलायमान हुने वातावरण बनेको छ । पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२१ का आठ महिनामा ६६ हजारभन्दा धेरै पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्ष सन् २०२० मा पर्यटक आगमन सङ्ख्या दुई लाख ३० हजार ८५ मात्र छ ।