२०८१ फाल्गुन ३ गते शनिवार

रुकुम पूर्वको भूमेमा ‘पब्लिक हाजिरी’, कर्मचारी आएनआएको सेवाग्राहीले सजिलै थाहा पाउँछन्



१३ असार, रुकुम पूर्व – रुकुम पूर्वको भूमे गाउँपालिकाले कार्यालयमा कार्यरत कर्मचारीको हाजिरीलाई सेवाग्राहीले निगरानी गर्न सक्ने गरी सार्वजनिक रुपमा गर्ने व्यवस्था गरेको छ । कार्यालयको सेवा प्रवाहका लागि कर्मचारीको उपस्थितिलाई पारदर्शी बनाउन रुकुम पूर्वको भूमे गाउँपालिकाले ‘पब्लिक हाजिरी’ को व्यवस्था गरेको हो ।

कर्मचारीको उपस्थितिलाई नियमित गराउन र उनीहरू आएको–गएको कुरा सेवाग्राहीले पनि प्रष्टैसँग देख्न सक्ने गरी पब्लिक हाजिरीको व्यवस्था गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले बताउनुभयो ।

गएको वर्षको मङ्सिरबाट नै सुरु गरिएको यो व्यवस्थाले सेवाग्राहीलाई कर्मचारी छन् कि छैनन् भन्ने जानकारी हुने र कर्मचारीलाई पनि कार्यालयको नियमितता र कार्यकक्षमा बसिरहन नैतिक दबाब पुग्ने गरेको छ ।

कर्मचारीको उपस्थितिलाई सेवाग्राहीले पनि निगरानी गर्न पाउँछन् भनेर पनि सार्वजनिक रूपमा हाजिरी देखाउने व्यवस्था गरिएको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढाले बताउनुभयो । उहाँका अनुसार फाँट–फाँटमा गएर आए–नआएको हेर्नुभन्दा सबैले देखिने गरी राख्दा सहज हुने भएकाले पब्लिक हाजिरीको व्यवस्था गरिएको छ ।

कार्यालय परिसरमा सबैले प्रष्टसँग देख्ने गरी राखिएको हाजिरी विवरण कर्मचारीले कार्यालय समयमा आउँदा उपस्थित र जाँदा अनुपस्थितिको जनाउ दिएर जान्छन् । उज्यालोबाट

प्रकाशित मिति : २०७८ असार १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस्