२०८२ बैशाख ११ गते बुधवार

कर्णालीका ३ मन्त्री सांसदबाट निलम्बित



१३ असार, सुर्खेत — नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले सरकारमा रहेका ३ मन्त्रीलाई शुक्रबार सांसदबाट एक महिनाका लागि निलम्बन गरेको छ । ती मन्त्रीहरूले भने संसदीय दलको निर्णय अवैधानिक भन्दै कानुनी उपचार खोज्ने बताएका छन् ।

हाल एमालेबाट निर्वाचित नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाही माओवादी नेतृत्वको सरकारमा छन् । करिब एक साताअघि एमालेले तीनै जनालाई मन्त्रीबाट फिर्ता हुन निर्देशन दिएको थियो तर उनीहरूले मन्त्रीबाट फिर्ता हुन मानिरहेका छैनन् ।

निर्देशन अटेर गर्दै फिर्ता नभएपछि एक महिनाका लागि निलम्बन गरिएको संसदीय दलले जनाएको छ । प्रमुख सचेतक गुलावजंग शाहले एमालेले कर्णाली सरकारबाट बाहिरिने निर्णय गरिसक्दा पनि सरकारमा रहनु असंसदीय व्यवहार भएको बताए ।

गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि एमालेले तीन मन्त्रीका साथै अर्का सांसद प्रकाश ज्वालालाई सांसदबाट पदमुक्त गरेको थियो । पदमुक्तपछि तीन सांसद स्वतन्त्र हैसियतमा सरकारमा गएका थिए । जेठ २७ गते सर्वोच्च अदालतले अन्तरिम आदेशबाट पुनर्बहाली गर्न भनेपछि एमालेले मन्त्रीबाट बाहिरिन निर्देशन दिएको थियो । पदमुक्तसम्बन्धी मुद्दा अहिले सर्वोच्चमा विचाराधीन छ ।।

प्रकाशित मिति : २०७८ असार १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस्