२०८१ जेष्ठ ३० गते बुधवार

मनोनयन फिर्ता लिन अपिल गर्दै सत्ता गठबन्धन



१४ बैशाख, काठमाडौं –
सत्ता साझेदार पाँच दलले गठबन्धनका साझा उम्मेदवारबाहेक स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन आह्वान गर्ने भएका छन् ।

नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पाँच दलीय संयन्त्र ‘निर्वाचन तयारी तथा अनुगमन समिति’का संयोजक रामचन्द्र पौडेलका अनुसार बुधबार शीर्ष नेताहरूले साझा उम्मेदवारबाहेक अन्य नेताहरूले दर्ता गरेको मनोनयन फिर्ता लिन आग्रह गर्नेछन् ।

उनले भने, “साझा उम्मेदवारबाहेकका साथीहरूलाई मनोनयन फिर्ता लिन आग्रह गर्छौं । पार्टीमा उहाँहरूले गर्नुभएको योगदानको मूल्याङ्कन हुन्छ । अहिलेलाई उहाँहरूले पार्टीलाई सहयोग गर्नुपर्छ । पार्टीको निर्णय मान्नुको विकल्प पनि छैन । यही आग्रह सबै साथीहरूलाई गर्छौं ।”

उनले गठबन्धनलाई बलियो बनाउनु अहिलेको आवश्यकता र जिम्मेवारी रहेको बताउँदै पार्टीको निर्णयविपरीत मनोनयन गरेका नेताहरूले वैशाख १६ गतेभित्र उम्मेदवारी फिर्ता लिने विश्वास व्यक्त गरे ।

नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा साझा उम्मेदवार उठाउने निर्णय गरेका छन् । नेपाली काँग्रेसले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ । काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ओलीको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको बताएका छन् । गोरखापत्र दैनिकमा अशोक अधिकारीले खबर लेखेका छन् ।।

प्रकाशित मिति : २०७९ बैशाख १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस्