२०८० फाल्गुन १२ गते शनिवार

घोराही १४ को दोस्रो सार्वजनिक सुनुवाई सम्पन्न



१३ चैत, घोराही – घोराही उपमहानगरपालिका वडा नम्बर १४ ले चालु आर्थिक बर्षको दोस्रो चौमासिकको समिक्षा तथा सार्वजनिक सुनुवाई गरेको छ । वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी सहित विभिन्न शाखा महाशाखा र सरोकारवालाहरुको उपस्थितीमा सार्वजनिक सुनुवाई भएको हो ।

वडाको कूल ७३ वटा योजना रहेको ति मध्य २६ वटा योजना सम्पन्न भएकोमा १६ वटा योजनाको भुक्तानी समेत भैसकेको वडा कार्यालयले जनाएको छ । बाँकी ६७ वटा योजना पनि सम्झौता भैसकेको छ । वडा कार्यालयले २ सय ६९ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।

सामाजिक सुरक्षा तर्फ ६ सय ८९ जना सुचिकृत भएको र फागुन मसान्त सम्म एक करोड १७ लाख ११ हजार ५ सय ५८ रुपैयाँ ५४ पैसा राजस्व संकलन भएको वडा कार्यालयले जनाएको छ । स्वास्थ्य तर्फ परिवार नियोजन सम्बन्धि सेवा लिनेहरुमा नयाँ ९ सय ६९ जना, १ हजार ८ सय ५ पुराना नागरिकहरुले सेवा लिएका छन् ।

चार पटक गर्भवती जाँच गराउने २ सय ३९ जना, आइरन १ सय ८० र जुकाको औषधी खाएका २ सय ८५, ३८ जनो सुरक्षित गर्भपतन गराएको, पिल्स, डिपो, इम्प्लान्ट, आईससूसिडी सेवा लिने ४ सय ४७ जना, ७३ सय १५ वटा कण्डम बितरण र १९ हजार ७ सय ५८ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।

यस्तै कार्यक्रममा घोराही उपमहानगरापालिकाका प्रमुख नरुलाल चौधरीले गुनासो रहित काम गर्न आफुहरु प्रतिबद्ध रहेको बताउनुभएको छ । नगरले गर्ने सबै काममा गुणस्तरीय र गुनासो रहित बनाउने प्रयासमै रहेको भन्दै त्यसको निगरानी सबै सरोकारवाला र नगरबासीहरुले गर्नुपर्ने उहाँको भनाई छ ।

शिक्षामा विद्यार्थी संख्याको आधारमा दरबन्दी मिलान, तह अनुसारको प्रधानाध्यापकको व्यवस्था गरेको जानकारी दिनुभयो । त्यसैगरी, कालो पत्रे सडकलाई बलियो बनाउन अक्सपाल्ट विधी अपनाईएको र आफुहरु निर्वाचित भएर आएपछि गरेको त्यस्तो प्रविधिको कालोपत्रे मर्मत गर्नु नपरेको बताउनुभयो ।

कार्यक्रममा वडाबासीहरुले एकीकृत समन्वयकारी भूमिका नहुदा अघि हुनुपर्ने काम पछि र पछि हुने काम अघि भएको बताएका छन् । पहिले सडक कालोपत्रे गर्ने र पछि नाला बनाउने कार्यले कालोपत्रे अस्तव्यस्त भएको, पहिले गरेको लगानी खेर गएको, समन्वय नगरि टेलिफोन र पानीको पाईप राख्न सडक काट्ने तर मर्मत नगर्दा समस्या भएको, निर्माण कार्यमा निकै ढिलाई भएको, निर्माण सामाग्रीको मूल्य आकाशिदा स्टीमेट कम र लागत धेरै हुदा निर्माण कार्य रोकिने अबस्थामा पुगेको गुनासो गरेका छन् ।

साथै नालाबाट फोहोर सहज ढंगले बगाउने, सडक बत्ती भरपर्दो हुनुपर्ने, लागु औषध दुव्र्यसनीलाई रोक्नुपर्ने, पार्किङलाई व्यवस्थित गर्नुपर्ने विषयमा समेत वडाबासी आवाज उठाएका छन् । विभिन्न टोलका प्रतिनिधी नरबहादुर बुढाथोकी, तुलसीराम दाहाल, अनिल सेर्पाईली, दुर्गाबहादुर थापा, सन्तबहादुर वुढा, भानुभक्त पाण्डे, एकराज खनाल, सुभाष नेपालीलगाएतकाले आ आफ्ना भनाई सुझाब र गुनासो राख्नुभएको थियो ।

कार्यक्रममा उठेका बिषयमा नगर प्रमुख नरुलाल चौधरी, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी, वडा अध्यक्ष शक्तिराम डाँगी, पूर्वाधार महाशाखा प्रमुख युवराज पौडेल, राजस्व शाखा प्रमुख कृष्णकुमार केसी, वडा प्रहरी कार्यालयका प्रमुख हृदेश सापकोटा, ट्राफिक प्रहरी प्रमुख थम्मन जिसी लगाएतकाले कार्यक्रममा उठेका बिषयमा जवाफ दिनुभएको थियो । कार्यक्रमको सहजिकरण चन्द्रप्रकाश नेपालीले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७८ चैत्र १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस्