१५ फागुन,काठमाडौं- आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठकमा एमसीसी सम्झौतामाथि छलफल हुने सम्भावना रहेको भन्दै विभिन्न राजनीतिक दलले विरोध प्रदर्शनको कार्यक्रम राखेका छन् । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहित आठदलीय मोर्चाले भोलि दिउँसो १२ बजे माइतीघरमा भेला भएर नयाँ बानेश्वरस्थित संसद भवन घेर्ने कार्यक्रम राखेका छन् ।
उक्त मोर्चामा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी,मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल,आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी,ऋषि कट्टेल नेतृत्वको नेकपा, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा र सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले उक्त कार्यक्रम राखेका हुन् ।
त्यसैगरी सीपी मैनाली संयोजक रहेको २२ दलीय मोर्चाले पुरानो बानेश्वरमा १२ बजे जम्मा भई भीमसेनगोला हुँदै मिलन चोकमा निस्किएर बानेश्वर पानीट्यांकी नजिक पुगी प्रदर्शन गर्ने जनाएको छ । नारायणमान बिजुक्छे नेतृत्वको नेमकिपाले साढे ११ बजे कोटेश्वर चोकमा जम्मा भई र्यालीसहित संसद भवन छेउ अगाडि प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।
सरकारपक्षीय गठबन्धनको नेकपा माओवादी केन्द्र र उसका भातृ संगठनहरु र जनवर्गीय संगठनहरुले बिहान ११ बजे माइतीघर मण्डलामा जम्मा भएर एभरेष्ट होटल अगाडि पुगेर प्रदर्शन तथा कोणसभा गर्ने जनाएका छन् ।
शाही शक्ति नेपाल,हेमविक्रम सिलवाल नेतृत्वको स्वतन्त्र नागरिक समाज,केशर बहादुर बिष्टको राष्ट्रिय शक्ति नेपाल, नेपाली काँग्रेस समाजवादी, नेपालको लागि नेपाली पार्टीलगायतका अभियन्ताहरुले १२ बजे माइतीघर तथा बबरमहलमा जम्मा भई बानेश्वर जाने उल्लेख गरेका छन् ।
शाही युवा शक्ति नेपालको समूह १२ बजे बबरमहलमा जम्मा भई बानेश्वरतर्फ जाने छ भने चन्द्रबहादुर थापा ९सागर० नेतृत्वको राष्ट्रवादी केन्द्र नेपाल माइतीघर मण्डलामा जम्मा भएर बानेश्वरमा प्रदर्शन गर्न जानेछ ।
नेपाली काँग्रेस विपीले व्यक्तिगत रुपमा विरोध कार्यक्रममा सहभागी हुने निर्णय गरेको छ भने नारायण शर्मा नेतृत्वको एमसीसीविरुद्ध संयुक्त आन्दोलन मोर्चाको टोली शंखमूलमा साढे ११ बजे जम्मा भई बानेश्वर पुगेर प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक भएको छ ।
त्यसैगरी तारानाथ लुईटेल नेतृत्वको एमसीसीविरुद्ध संयुक्त जनआन्दोलन समूहले बिजुलीबजार पुलमा १२ बजे जम्मा भएर बानेश्वर पुगेर प्रदर्शन गर्ने भन्दै आफ्ना समर्थकहरुलाई जानकारी गराएको छ ।