१५ फागुन,घोराही- घोराही उपमहानगरपालिका वडा नम्बर १७ चौघेरास्थित पौराणिक, ऐतिहासिक, गोरक्ष पात्र देवता सिद्ध रत्ननाथ मन्दिर परिसरमा आज पीरफिरे मेला लाग्दैछ । प्रत्येक वर्ष सञ्चालन हुने पीर स्थापना मेलाको सबै तयारी पूरा भएको मठ व्यवस्थापन समितिले जनाएको छ ।
मन्दिरमा उपस्थित भेष बाह्रपन्थ योगी महासभाबाट मठाध्यक्ष अर्थात पीरका लागि योग्य व्यक्तिलाई सर्वसम्मतिले मनोनयन गर्ने प्रचलन रहिआएको छ । मन्दिरका अन्य पुजारी, भण्डारी, सिराने र धुनीयोगीलाई कर्मचारीको रुपमा फेरवदल पनि आजैका लागि गर्ने गरिन्छ ।
त्यस अवसरमा पात्र देवताको विशेष पूजा र दर्शनका लागि दर्शनार्थी, भक्तजनहरुको उपस्थितमा मेला लाग्ने प्रचलन रही आएको हो । गोरक्ष पात्र देवता सिद्ध रत्ननाथ मन्दिर परिसरमा लाग्ने मेलामा भक्तजनको ठूलो भीड लाग्ने गर्दछ । यद्यपि, बितेका दुुई वर्षमा भने कोरोना महामारीका कारण मेला लाग्न पाएको थिएन ।।