१४ माघ,घोराही ।
प्यूठानको स्वर्गद्वारी नगरपालिका नगर कार्यपालिकाका प्रशासन तथा योजना अधिकृत पुरन चन्द्र आचार्यमाथी अभद्र व्यवहार तथा हातपात भएपछि दोषीमाथि कारबाहीको माग राख्दै कर्मचारीहरूले निरन्तर आन्दोलन गरिरहेका छन ।
कार्यालय पुर्णरुपमा बन्द गर्दा सेवाग्राहीलाई समस्या हुने भएकाले दैनिक एक घण्टा नगरपालिकाको नगर कार्यपालिका कार्यालय अगाडि धर्ना बस्ने र त्यसपछि नागरिकहरूको सेवाको लागि कार्य सञ्चालन गर्ने कर्मचारीहरूले बताएका छन ।
सम्पूर्ण कर्मचारीहरूको सूरक्षाको प्रत्याभूति , पिडितलाई न्याय र दोषिलाई कारबाही जस्ता माग पूरा नभएसम्म यस्तै आन्दोलन जारी राख्ने कर्मचारीहरूको भनाई छ ।
जनप्रतिनिधि तथा केही नागरिककै कारण कर्मचारीहरूले यस्तो आन्दोलन गरेर स्वर्गद्वारी नगरपालिकामा समस्या निम्तिदा सम्म पनि नगरपालिकाले कुनै चासो नदेखाएको नगरबासीको गुनासो छ ।
गत माघ ८ गते अधिकृत आचार्यलाई स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ का गणेशमान कालाथोकी र वडा नम्बर ७ का वडा अध्यक्ष टेक बहादुर भट्टराईले होटेलमा लगेर अभद्र व्यवहार तथा हातपात गरेको उल्लेख गर्दै कर्मचारीहरूले दोषीलाई कारबाही , पिडितलाई न्याय र सम्पूर्ण कर्मचारीलाई सुरक्षाको प्रत्याभूतिको मागको उल्लेख गर्दै विज्ञप्ति निकालेका थिए ।
कर्मचारीको खटनपटनको विषयलाई लिएर गणेशमान कालाथोकी ( भिम ) ले काम छ भन्दै होटेलमा बोलाएर एउटा कोठामा लगेर ढोकाको चुकुल लगाएर आफूलाई हातपात गर्दै धम्की दिएको र टेक बहादुर भट्टराईले धम्काएको आचार्यले बताउदै आएका छन ।
८ गतेदेखि १३ गतेसम्म नि यो समस्यालाई समाधान नगरेर सम्बन्धित पक्ष मौन रहनु नगरपालिकाको सहजताप्रती बेवास्ता गरेको आम नागरिकहरूको जिकिर छ ।
प्रकाशित मिति : २०७७ माघ १४ गते बुधवार