११ पुस, घोराही –
दाङको बबई गाउँपालिका वडा नम्बर १ गंगटेमा बिजुलि पुगेको छ । बबई गाउँपालिकाको ६७ लाख र नेपाल विद्युत प्राधिकरणको करिब २ करोड ५० लाख लागतमा गंगटेमा विद्युत पुगेको हो ।
स्थानीय सरकार आएपछि गाउँमा पहिलोपटक बिजुली बत्ति बलेको हो । बबई गाउँपालिका सदरमुकाम हपुरेदेखि करिब २४ किलोमिटर टाढा पर्ने गंगटेमा विद्युत विस्तार गरिएको हो ।
गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले बबई गाउँपालिकालाई नै उज्यालो बनाउने उद्देश्य अनुरुप गंगटेमा पनि विद्युत विस्तार गरिएको बताउनुभयो । गाउँपालिकाका विकट वस्तीमा विद्युत पु¥याउने योजना अनुरुप नै गंगटेमा पहिलोपटक विद्युत विस्तार गरिएको उहाँले बताउनुभयो ।
उहाँले विद्युत विस्तार हुनुमात्रै ठुलो कुरा नभएको भन्दै दिर्घकालिन बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । बिजुली पुगेपछि स्थानीयलाई मोबाईल चार्ज गर्न, बत्ति बाल्न, गाउँमा विद्युतिय मिल संचालन गर्न सहज हुने भएको छ ।
विद्युत नहुँदा बालबालिकालाई पढ्न समेत समस्या हुने गरेको थियो । गाउँमा विद्युत आएपछि बालबालिकाले रातको समयमा ढुक्कले पढ्न पाउने भएका छन् । आर्थिक वर्ष २०७५÷७६ देखि शुरु भएको योजना करिब तीन वर्षपछि सम्पन्न भएको हो ।।