११ पुस, काठमाडौं –
नेकपा (माओवादी केन्द्र)को महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् । आज (आइतबार) अपरान्ह्र ३ बजे कमलादीस्थित प्रज्ञा भवनमा माओवादी केन्द्रको महाधिवेशन सुरु हुँदैछ ।
स्थायी कमिटीबाट राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरेको माओवादीले अन्य दललाईसमेत निम्तो गरेको छ । एमाले अध्यक्ष ओली गृहजिल्ला झापामा भएकाले उपस्थित नहुने भएका हुन् ।
अध्यक्ष ओलीको सचिवालयका अनुसार अध्यक्ष प्रचण्डले ओलीलाई टेलिफोन गरी महाधिवेशनमा आउन आग्रह गरेका थिए । ओली आफू उपत्यका बाहिर रहेकाले सहभागी हुन नसक्ने जनाएका थिए ।
यसअघि चितवनमा भएको एमाले महाधिवेशनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसमेत गएका थिएनन्। नेकपा विभाजन पछि ओली र दाहालबीच तिक्ततापूर्ण सम्बन्ध छ ।
महाधिवेशनको उद्घाटन सत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपालगायत दललाई निमन्त्रणा गरिएको छ।