२०८१ असोज २५ गते शुक्रवार

महिला जनप्रतिनिधीलाई तालिम प्रदान



११ पुस,सल्यान ।
जिम्मेवार तथा उत्तरदायी नेतृत्व निर्माण गर्ने उद्देश्यले सल्यानको कपुरकोटमा महिला, जनजाती तथा दलित जनप्रतिनिधीहरुलाई तालिम प्रदान गरिएको छ । विहिबार, शुक्रबार र शनिबार गरी तीन दिन सम्म उनीहरुलाई नेतृत्व तहमा रहेर कसरि असल कार्य गर्न सकिन्छ भन्ने विषयमा तालिम प्रदान गरिएको हो ।
तालिममा सहभागी कपुरकोट गाउँपालिका वडा नम्बर ४ की सेतु सार्कीले आफुसंग भएको क्षमतालाई सही ढंगले उपयोग गरेर नेतृत्व लिनुपर्छ भन्ने विषयमा महत्वपूर्ण जानकारीहरु पाएको बताइन् । उनले महिलाहरुले दैनिक जीवनमा विभिन्न क्रियाकलाप गर्नेगरेको तर अव सम्पत्ति, राजनितिक नेतृत्व र श्रोत साधनमा पनि आफुहरुको पहुँच बृद्धि हुने गरी काम गर्नुपर्ने विषयमा जानकार भएको बताइन् ।

दलित महिला केन्द्र काठमाण्डौँको आयोजनामा सुशासनमा नागरिक सहभागीता कार्यक्रम अन्तर्गत महिला, जनजाती तथा दलित जनप्रतिनिधीहरुका लागि नेतृत्व विकास तालिमको आयोजना गरिएको हो । नेतृत्व तहमा महिला सहभागिता बढाउन तथा सही बाटो देखाएर समाजको अगुवाई गर्न सक्ने र सबैलाई समेट्न सक्ने नेतृत्व निर्माण गर्न तालिमले महत्वपूर्ण भुमिका खेल्ने दलित महिला केन्द्रका कार्यक्रम अधिकृत सरिता गहतराजले बताइन् ।
तालिममा द्वन्द र शान्ति अध्ययन विभाग, मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका उप–प्राध्यापक ललितजंग शाहीले नेतृत्व केहो, वर्तमान नेतृत्व र समाजप्रतिको बुझाइ, महिला नेतृत्वको सिवकास र अधिकार तथा नेतृत्वका लागि आइपर्ने चुनौती लगाएतका विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर सहित कार्यपालिकाका महिला सदस्य, दलित महिला सदस्य, आमा समुहका प्रतिनिधी लगाएतको सहभागीता थियो ।

प्रकाशित मिति : २०७७ पुष ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस्